काठमाडौं, २८ असार । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सरकारले हरियाली प्रवद्र्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिएको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयलगत बजेट छलफलमा उठेका सवालहरुको जवाफ दिँदै मन्त्री महतोले यस्तो बताएका हुन् ।
उनले भने,‘वन मन्त्रालयले हरियाली प्रवद्र्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ । जसको लागि वृक्षारोपण, विरुवा उत्पादन, शहरी वन, हरियाली पार्कका कार्यक्रमहरु संघ, प्रदेश र स्थानीय तहरु तथा उपभोक्ता लगायतका सरोकारवालाहरुसहितको सहभागितामा कार्यान्वयनमा ल्याईनेछ ।’
मन्त्री महतोले वन उद्यम प्रवद्र्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि आगामी आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तीनै तहबाट समृद्धिको लागि वन कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिए ।
मन्त्री महतोले वन अतिक्रमण, वन डढेला लगायतबाट वनको संरक्षणमा मन्त्रालय सजग रहेको पनि विश्वास दिलाए । उनले थपे–‘राष्ट्रिय वन क्षेत्रहरुमा अतिक्रमण तथा डढेलो नियन्त्रणका कार्यक्रमहरुलाई सशर्त अनुदानका रुपमा प्रदेश सरकारहरुमार्फत बजेट उपलब्ध गराईएको छ । यस्तै, देशभर रहेका २० वटा संरक्षण क्षेत्रहरुमा हुने डढेलो तथा अतिक्रमण व्यवस्थापनका कार्यहरु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट कार्यान्वयन हुनेगरि बजेटको व्यवस्था गरिएको छ ।’