काठमाडौं, २८ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको निधनमा कांग्रेसले रक्सी खाएर खुसियाली मनाएको आरोप लगाएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले नेताको निधनमा जस्तोसुकै व्यवहार गरेपनि आफूहरुले कांग्रेस–माओवादी दुवैको दुःखमा दुखको आँशु बगाएको बताए । ‘मदन भण्डारी मर्दाखेरी कांग्रेसले रक्सी खायो । एमाले कांग्रेसको आँशुमा आँशु बगाउँदै आएको र माओवादीको आँशुमा आशु बगाउँदै आएको पार्टी हो,’– उनले भने ।
कांग्रेस माओवादी दुवै पार्टीले एमालेलाई ठाउँ पाएसम्म घानमा पार्ने गरेको उनको भनाई छ । बताएका छन् । उनले ०६५ सालमा एमालेले नै कांग्रेसलाई जोगाएको दाबी गरे । ०६५ सालमा प्रचण्डले भनेको मान्छे एमालेले राष्ट्रपति मानेको भए अहिले कांग्रेसको अस्तित्व नै संकटमा रहेको अवस्था हुने उनको भनाई छ । ‘०६५ मा राष्ट्रपति यदि प्रचण्डले भनेको मान्छे एमालेले मानेको भए कांग्रेसले पिण्ड खाईसक्थ्यो । हामीले रामबरण यादवलाई राष्ट्रपति दिएर माओवादीजस्तो यमदूतको अवतारबाट कांग्रेसलाई हामीले जोगायौं,’– उनले भने ।
अबको राजनीतिमा एमालेसँगको सहकार्यलेमात्रै अगाडि बढ्न सकिने उनको दाबी छ । एमालेसँग सहकार्य नगरेको खण्डमा दुवै पार्टी डुब्ने उनको दाबी छ । ‘अब प्रचण्डलाई कठै भन्नुपर्ने दिन आउँछ, राजनीतिमा । एमालेलाई जो चाँडो सम्झिन्छ, तिनीहरुको मात्रै भाग्य चम्किन्छ । नत्र यी दुवै पार्टी डुब्छन् । ०४८ देखि ०६४ सम्म एमालेलाई कांग्रेसले खाडल खन्यो । ०६४ मा आफैं पर्यो । रामवरणलाई चुनाव जिताएदेखि लिएर ७० मा शुसिल कोइरालालाई प्रधानमन्त्री बनाउँदासम्म एमाले चाहियो । अब देउवाले लात्ताले हान्नेवित्तिकै प्रचण्डजीको पनि जाने ठाउँ काही छैन,’– उनले भने ।