काठमाडौं, २८ असार । डा. सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने तयारीमा थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी वियोगमा परेपछि जनमतको सत्तारोहण केही दिनको लागि पर धकेलिएको छ ।
जनमतले अनितादेवी साहलाई सरकारमा पठाउने निधो गरेको छ । जनमतका अध्यक्ष राउतले प्रधानमन्त्री दाहालसँग भेटेर सरकारमा सहभागी हुने पार्टीको तर्फबाट सांसदको नाम सिफारिश गरेका छन् । प्रधानमन्त्री दाहालको शनिबारसम्म सबै कार्यक्रम स्थगित् गरिएको छ ।
आगामी सोमबारपछि मात्रै प्रधानमन्त्री दाहाल राजनीतिक भेटवार्तामा सक्रिय हुने बताईएको छ । जनमत यसअघि पनि सरकारमा सहभागी थियो । तर, पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारमा आफूहरुले खोजेको मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।
तर, उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । प्रधानमन्त्री दाहालले जनमतको समर्थन कायमै राख्नको लागि मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् ।
मन्त्रिपरिषद् हेरफेर गर्दा अहिले सरकारमा सहभागी एक मन्त्रीको जिम्मेवारी खोसिने निश्चित् छ । प्रधानमन्त्री दाहालले आफ्नै दलबाट सरकारमा सहभागी एक मन्त्रीलाई फिर्ता बोलाउने भएका छन् । File Photo