Logo

सुदूरपश्चिममा आत्महत्या न्यूनिकरण चुनौतीपूर्ण



महेन्द्रनगर, २८ असार । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ । पछिल्लो छ वर्षयता प्रदेश सबैभन्दा झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्कले बढी देखाएको छ ।

सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको हालसम्म नौ वटै जिल्लामा पाँच सय सात जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार गतवर्ष सुदूरमा पाँच सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा छ सय ८६ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।

आत्महत्या गर्ने धेरैमा विष खाएर, झुण्डिएर, पानीमा हामफालेर, करेन्ट लगाएर हुने गरेको छ । चालु आवमा सबैभन्दा बढी कैलालीमा दुई सय ३३ जनाले आत्महत्या गरेका छन् । कञ्चनपुरमा एक सय १९, डोटीमा १५, अछाममा बीस जना, बाजुरा २०, बैतडी र बझाङमा २४/२४, दार्चुलामा २५ र डडेल्धुरामा २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

आत्महत्यालाई निरुत्साहित गर्न राष्ट्रियरुपमै योजना बनाएर नियन्त्रणको प्रयासमा लाग्नुपर्ने अवस्था आएको प्रहरी अधिकारीको भनाइ छ । “पहाडी जिल्लाभन्दा तराईका जिल्लामा बढी आत्महत्याका घटना बढेका छन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने, “आत्महत्या नियन्त्रण र लागुऔषध नियन्त्रण सुदूरपश्चिमका मुख्य चुनौती हुन् ।”

आत्महत्या गर्नेमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रहेको प्रहरी भनाइ छ । मुलुकी अपराधसंहिता २०७४ लागू भएयता आत्महत्या गर्न बाध्य पार्नेमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइए पनि आत्महत्याको दरमा कमी भने आएको छैन् ।

प्रहरी प्रवक्ता डाँगीले मानसिक रोग भएको अवस्था, डिप्रेशन, बेरोजगारी, पारिवारिक तनाव र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले समेत मानिसक आत्महत्या गरिरहेको बताए । “आत्महत्या न्यूनिकरण निकै चुनौतीपूर्ण विषय छ”, उनले भने, “यसको नियन्त्रणका लागि सबै निकायबाट पहल हुन जरुरी छ ।”

उनले हरेक दिनजसो यहाँ आत्महत्याका घटना प्रहरीमा पुगिरहेको बताए ।रासस



प्रतिक्रिया दिनुहोस्