काठमाडौं, २९ असार । जय साहको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो’ विमोचन गरिएको छ । आज (बुधबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर उक्त पुस्तकको विमोचन गरिएको हो ।
पूर्व सभामुख दमननाथ ढुंगाना, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह, प्राध्यापक डा. कुशुम शाक्य, डा. रुद्र घिमिरेलगायतले उक्त पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका साह यही पुस्तक विमोचनको लागि हालै नेपाल आएका थिए ।
पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख दमननाथ ढुंगानाले पुस्तकका रत्नकार साह नयाँ नेपाल बनाउने सूत्रधार हुनसक्ने भन्दै बधाईको पात्र भएको बताए । लेखक साहले कलियुगको चरित्रबारे एकदमै राम्रोसँग व्याख्या गरेको उनको भनाई छ । लेखकले नेपाल विश्वको गुरु बनाउने प्रण गरेकोमा पनि उनले खुशी व्यक्त गरे ।
ढुंगानाले लेखक साहले देशमा विद्यमान जातीय प्रथा र दाइजो प्रथा हटाउनुको साथै लोभ र लालचपनि शून्य बनाउने प्रण गरेको उल्लेख गर्दै जातीय र दाइजो प्रथा हटाउन सकिने भएपनि लोभ र लालचा (ग्रिड) बने पूर्ण रुपमा हटाउन नसकिने तर्क गरेका छन् ।
उनले मानव लोभ र लालचाले भरिएको हुने भन्दै बरु यसलाई कम गर्न भने सकिने तथ्य पेश गरेका छन् । अमेरिकामा बसेर पनि साहले नेपाल खोजेको र नयाँ नेपाल बनाउने प्रण गरेको भन्दै उनले साहले धेरै नै ठूलो काम गरेको बताए ।
साहले पुस्तकमार्फत अघि सारेको सामाजिक र राजनीतिक सोच पनि सुन्दर रहेको भन्दै उक्त विचार लागु होस भन्ने कामना गरेका छन् । उनले विचार अघि सार्नु नै ठूलो कुरा भएको बताए । अब यसलाई सही तवरले कार्यान्वयन गर्न सकिए राम्रो उनको तर्क छ । उनले साहको तर्कबाट आफू प्रभावित भएको पनि उल्लेख गरे । साहले छिट्टै सत्ययुग समाजवादी नामको नयाँ दल खोल्ने र उक्त दल पूर्णतय मेरिटोक्रेसीमा आधारित हुने अवधारणाबाट पनि आफू प्रभावित उनको उनको भनाई छ ।
उनले नेपालमा ठूला ठूला परिवर्तन भएपनि त्यसको सही अर्थमा नेतृत्व अघि बढ्न नसक्दा जनताको अवस्थामा कुनै आमूल सुधार नआएको गुनासो पोखे । उनले आफूले विगत ३० वर्षअघि पनि नेपालमा असल राजनीतिज्ञमा असल व्यवस्थापकीय क्षमताको वकालत गरेको भन्दै अब भने राजनीतिमा सवल, सक्षम र प्राविधिक युवा पुस्ताको जबरजस्त सहभागिता बढेको सुनाए ।
उनले नेपालमा संविधान जारी गर्नेहरु नै लागु गर्ने सवालमा भने लोभी र पापी बनेको गुनासो पोखे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री भैसकेका व्यक्तिहरुको संलग्नता हुनुले पनि नेपालको राजनीतिको विकृति देखाउने बताए ।
सो कार्यक्रममा त्रिवि अर्थशास्त्र विभागकी डिन प्रा.डा. कुसुम शाक्यले नेपालमा पछिल्लो समय राजनीतिक क्रान्ति सफल भएको भन्दै अब आर्थिक क्रान्तिको वकालत गरिएपनि लेखक साहले भने पुस्तकमार्फत नै नेपाललाई कसरी आर्थिक क्रान्तिको बाटोमा लैजान सकिन्छ भनेर बाटो देखाएको बताईन् । पुस्तकले इनोभेसनको पनि कुरा गरेको भन्दै हरेक समस्याको समाधान दिनेगरि अवधारणा साझा गरिएको भन्दै लेखक साहलाई शाक्यले धन्यवाद दिईन् । उनले आफू विश्वमा कास्ट सिस्टमको कुरा गर्दा महिला र पुरुषमात्रै जात रहेको निश्कर्षमा रहेको सुनाईन् ।
कार्यक्रममा डा. रुद्र घिमिरले भने लेखकले आफ्नो नयाँ विचारलाई लेखाईमा आत्मानुभूति बढाउनुपर्ने सुझाउँछन् । उनले साहको खोज र सोचको प्रशंसा गर्दै अर्थशास्त्रीय दृष्टिकोणले दोस्रो युवा कौटिल्यको जन्म भएको हो कि भन्ने आफूलाई लागेको सुनाए । पुस्तकले इस्टर्न माईण्ड र वेस्टर्न हार्टलाई समेत जोड्ने काम गरेको उनको टिप्पणी छ।
कार्यक्रममा पुस्तकबारे प्रा.डा. अतीन्द्र दाहालले समिक्षा गरेका थिए भने सम्पादन गरेका प्रा.डा. आर.के सिंहले पनि आफ्नो धारणा राखेका थिए ।
जय साहको खोज : नेपाललाई विश्वगुरू बनाउने सोच
मानव सभ्यताको प्रारम्भिक चरण जंगली युग अथवा ढुंगे युग रहेको देखिन्छ। मानव जीवन फिरन्ते संस्कृतिबाट कृषि अथवा खेतीपातीमा आधारित भयो। खेतीपाती कर्मका कारण मानवलाई निश्चित ठाउँ र समूहमा बस्नुपर्ने आवश्यकता आइलाग्यो। त्यसपछि परिवारको विकास भयो। परिवारको विकासपछि समाज र समाजको विकासले राष्ट्रको निर्माणलाई सहयोग ग¥यो।
भारतीय सभ्यताअनुसार चार युगमध्ये हामी कलियुगमा बाँचिरहेका छौँ। जसमा विभिन्न समस्या, विचलन र अव्यवस्थाको उत्कर्ष देखिँदैछ।समाजलाई अधोगतिमा धकेल्ने, सामाजिक अन्तर्घुलन र सद्भावलाई विखण्डन गर्ने, अहम् तथा भेदभाव अनि बर्बरको आधार निर्माण गर्ने थुप्रै कारणमध्ये जातीय प्रथा पनि एक हो। लगभग एक लाखजति मात्रको सानो जनसंख्या र अरू धर्म नभएको समयमा भारतमा यसको उद्भव भएको देखिन्छ।
यसखाले अभ्यास संसारका लगभग सबैजसो देशबाट उन्मूलन भइसके पनि हामीकहाँ भने अझै यथावत् छ। यसले नै समाजमा द्वन्द्वको सुरुवात पनि भएको छ। यस्ता विकृति निराकरणका लागि ‘द कल्किस्ट मेनिफेस्टो ः अ रोडम्याप टू इन्ड कलियुग’ पुस्तक आमपाठकका लागि एक रोमाञ्चक र गहन अध्ययन सामग्री हुन सक्छ।
संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने युवा लेखक, अध्येता, शोधार्थी, अन्वेषक जय साह लिखित पुस्तकले सामाजिक विकृति उठान गरी विश्लेषणको आधार बनाएको छ। लेखक साहका अनुसार धार्मिक विवादलगायत महिलाविरुद्ध हिंसा, पैसासँग सम्बन्धित अपराधजन्य गतिविधि र जातीय विभेदले भारतीय उपमहाद्वीपका समाजलाई धेरै गिजोलेको छ।
यस्तो समस्या निम्तिनुमा राजनीतिकदेखि सामाजिक पक्षको पनि उत्तिकै भूमिका छ। यसले समाजलाई झन् बहुपक्षीय संघर्षतिर लैजाने खतरा व्याप्त हुँदै गएको सत्यलाई अस्वीकार गर्न मिल्दैन। तसर्थ जातीय प्रथाको समूल निराकरण गर्न सुधारका जबर्जस्त कदम उठाउनुपर्छ भन्ने निष्कर्षमा लेखक पुगेका छन्।
Photos By: Dinesh Chaudhary/ReportersNepal