Logo

हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातिको मृत्यु, अर्काको अवस्था गम्भीर



बैतडी, असार २९ । बैतडीमा हजुरबुवाको कुटपिटबाट एक दुई वर्षीय नातिको मृत्यु भएको छ भने अर्का आठ बर्षीय नाती गम्भीर घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका-६ मुडेलीधारमा ५० वर्षका गणेश साउदको कुटपिटबाट २ वर्षीय रोसन साउदको मृत्यु भएको हो भने ८ वर्षीय रिजन साउद गम्भीर घाइते भएका हुन् ।

कुटपिटबाट घाइते भएका दुवै बालकहरुको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि उनीहरुलाई डडेल्धुरा अस्पताल ल्याएको थियो । उपचारका क्रममा २ वर्षीय रोसन साउदको डडेल्धुरा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनहोरप्रसाद भट्टले बताए ।

अर्को गम्भीर घाइते रिजनलाई राती नै धनगढी ल्याएको थियो । अहिले उनको धनगढीस्थित नवजिवन अस्पताल उपचार भइरहेको छ।

बिहीबार बालकका आमा र हजुरआमा घाँस काट्न गएको बेला हजुरबुबाले कुटपिट गरेका थिए । घाइते रोसन र रिजनका बुबा दिपक साउद धनगढीमा थिए। कुटपिट गर्नुको कारण भने खुलेको छैन। कुटपीट गर्ने गणेश साउदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।



प्रतिक्रिया दिनुहोस्