काठमाडौं, २९ असार । अर्थविद् डा. चन्द्रमणि अधिकारीले दुवै सदनबाट बजेट पारित हुनु सकारात्मक भएको बताएका छन् ।
‘बजेट पारित हुनु राम्रै कुरा हो । त्यसो नभए साउन १ बाट खर्च गर्ने स्थिति हुँदैनथ्यो । तर असार मसान्तभित्र बजेट खर्चको योजना बनाउने भनिएको थियो । तर अहिलेसम्म त्यस्तो योजना बनेको सुनिएको छैन । गुणस्तरीय ढंगले खर्च गर्ने कुरामा गम्भीरता देखिएन । हामी जहाँको तहीँ छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
डा. अधिकारीले अर्थतन्त्रको बाह्य पक्षमा सुधार भए पनि आन्तरिक अवस्था समस्याग्रस्त नै रहेको औंल्याए । उनले थपे, ‘अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको भनिएको छ । वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रेमिट्यान्सका कारण ढुकुटीमा केही पैसा देखियो । तर त्यो आन्तरिक राजस्व होइन । वैदेशिक लगानी होइन । त्यो नआईकन उत्पादन र रोजगारी कसरी बढ्छ ? परियोजनाहरु कसरी चल्छन् ? वैदेशिक सहायता र ऋण त झन् घटेर गएको छ । आन्तरिक ऋणले बाह्य ऋणलाई उछिनेको छ । निकासी, बिजुली बिक्री, पर्यटनबाट पाएको वैदेशिक मुद्रा भए पो अर्थतन्त्र दिगो हुन्छ । त्यसकारण म अर्थतन्त्रमा सुधार भयो भन्न सक्दिनँ ।’