Logo

उपेन्द्र यादवलाई धमलाको प्रश्न— केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव ल्याए के गर्नुहुन्छ ?



काठमाडौं, २९ असार । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बिहान उठेर बेलुका नसुतेसम्म सरकारलाई सरापेर केही उपलब्धि नहुने बताएका छन् ।
‘जनताले चाहे अनुसार काम गर्ने सरकार संसारभरि कहीं पनि छैन । सरकारले आर्थिक स्रोत साधन, जनशक्ति र पूर्वाधारका आधारमा काम गर्ने हो । गठबन्धन सरकारले जनताको अपेक्षा र आकांक्षा अनुसार काम गर्नुपर्छ । तर बिहान उठेर बेलुका नसुतेसम्म सरकारलाई सरापेर पनि केही हुनेवाला छैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
गठबन्धन सरकार कति टिक्ने भन्ने कुरा प्रधानमन्त्री र गठबन्धन दलहरुको विवेकमा निर्भर रहने पनि यादवले बताए । उनले थपे, ‘हामी चाहन्छौं- यो गठबन्धन सरकार लामो जाओस् । तर यो हामीले चाहेर मात्र हुँदैन । सरकारले देश र जनताको हितमा काम गर्न सक्छ कि सक्दैन ? यो प्रधानमन्त्री र गठबन्धन दलहरुको विवेकमा भर पर्छ । सहयोगी दलहरुलाई विश्वास लिएर बुद्धिमताका साथ काम नगरे के हुन्छ, यसै भन्न सकिँदैन ।’
आफू तत्काल गठबन्धन भत्काउने पक्षमा नरहेको पनि यादवले बताए । उनले भने, ‘यो गठबन्धनलाई भत्काएर के पाउनु छ र ? हामी राजनीतिक स्थिरता र स्थायित्व चाहन्छौं । सधैं गठबन्धन भत्काइरहने र बनाइरहने गरेर कहीं पुगिँदैन ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धन बनाएर तपाईंलाई प्रधानमन्त्रीको प्रस्ताव ल्याए के गर्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा अध्यक्ष यादवले भने, ‘ओलीजीसँग भेट नभएको धेरै भयो । हाई-हेलो पनि भएको छैन । देशको विषयमा राजनीतिक कुरा गर्ने अवसर मिलेको छैन । त्यस्तो प्रस्ताव गरेछन् भने सोचौंला । तर उहाँले त्यस्तो प्रस्ताव ल्याउनुहुन्न । त्यो सम्भावना छैन ।’
नेता यादवले गठबन्धन दलहरुभित्र आलोपालो प्रधानमन्त्री बन्ने सहमति भइसकेको बताए । उनले भने, ‘सरकार बन्दाखेरि नै प्रधानमन्त्री आलोपालो भन्ने सहमति छ । गडबड गर्नुभएन भने दुई वर्ष प्रचण्डजीले चलाउनु होला । त्यसपछि अरु ककसको पालो हो, तय हुन्छ ।’

१० सिटको दलको नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा १२ सिट दलको नेता प्रधानमन्त्री नबन्ने भन्ने प्रश्नमा उनले भने, ‘मलाई लाग्छ, अहिले त्यो विषयमा सोच्ने बेला भएको छैन ।’
उनले नवगठित समाजवादी मोर्चा कम्युनिस्टहरुको नभएको दाबी पनि गरे । यादवले भने, ‘हामी कम्युनिस्ट होइनौं, समाजवादी हौं । समाजवादी मोर्चामा कोही पनि कम्युनिस्ट छैनन् । तपाईं साइनबोर्ड मात्र नहेर्नुस् न । नेपालमा कोही कम्युनिस्ट छैन । कम्युनिस्ट भनेको विचार हो, आदर्श हो, चरित्र हो, समाज परिवर्तनको विधि हो । अहिले कम्युनिस्ट र कांग्रेस नेतामा के अन्तर छ र ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot