काठमाडौं, असार २९ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नीशोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना सन्देश पठाएका छन् ।
यसअघि सीता दाहालको निधन भएकै दिन बुधबार टेलिफोनमार्फत समवेदना व्यक्त गरेका राष्ट्रपति पौडेलले आज आफ्नो परिवारका सदस्यसहित राष्ट्रपति कार्यालयका पदाधिकारीलाई बालुवाटार मै पठाएर लिखित समवेदना दिएका हुन् ।
राष्ट्रपतिले समवेदना पत्रमा सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीता दाहालको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवम् कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, रउनले भनेका छन् ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको समवेदना पत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरे ।