Logo

विपतपुरका आगलागीपीडितलाई पक्की घर



गोदावरी, २९ असार । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागीपीडितले नयाँ पक्की घर पाएका छन् । आगलागीपीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार र दातृ निकायको सहयोगमा विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर निर्माण गरिएका हुन् । अघिल्लो आर्थिक वर्षमा विपतपुर बस्तीमा आगालागीबाट २७ घर जलेर खरानी भएका थिए । घर जलेर नष्ट भएपछि एक वर्षदेखि उनीहरु पाल टाँगेर बस्दै आएका थिए ।

एक वर्षदेखि पाल टाँगेर छाप्रोमा बस्दै आएका उनीहरू अहिले पक्की घरमा सर्न पाउँदा खुसी छन् । नयाँ पक्की घरमा बस्न थालेपछि निकै सहज भएको विपतपुरका आगलागीपीडित राजकुमार चौधरीले बताए । उनले भने, “झुप्रामा बर्खामा सर्प–कीराको डर थियो । नयाँ पक्की घर पाएपछि सुरक्षित महसुस भएको छ ।”

रु एक करोड ८२ लाखको लागतमा घर निर्माण गरिएका हुन् । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु ९० लाख र ‘ह्याबिटेट फर ह्युमनिटी नेपाल’ नामक गैरसरकारी संस्थाले रु ५४ लाख लगानी गरेको बताइएको छ । घर निर्माणमा मुक्तकमैया परिवारले रु ३८ लाख बराबरको श्रमदान गरेका घर निर्माण समितिका अध्यक्ष हरिप्रसाद चौधरीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot