Logo

फार्मेसी अधिकृत मृत्यु प्रकरण : छानबिन समिति गठन



काठमाडौं, असार ३१ । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युबारे थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ ।

फार्मेसी अधिकृत पोखरेलले शुक्रबार बिहान अस्पतालको फार्मेसीको स्टोरभित्र कपडाको पासो लगाई आत्महत्या गरेका थिए । चिकित्साशास्त्र अध्ययन संस्थानले आत्महत्याका सम्बन्धमा थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्ममणि गजुरेलले मृतक पोखरेलको परिवारको आग्रहमा संस्थानले छानबिन समिति गठन गरेको बताए । सेन्टरका पूर्वनिर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । एक जना फार्मेसी सङ्घका प्रतिनिधि र अर्का एक जना मृतक पक्षबाट सदस्य रहनेछन् । छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

मृतक पोखरेलकी पत्नी मोनिका कोइरालाको किटानी जाहेरीपछि महाराजगन्ज प्रहरी वृत्त काठमाडौँले शुक्रबार प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

प्रहरी वृत्त महाराजगन्जका प्रमुख अङ्कुर जिसीले मृतकको साथबाट सुसाइड नोट फेला परेको र आत्महत्या दुरुत्साहनमा अनुसन्धान अघि बढाउनुपर्ने आधार फेला परेको जानकारी दिए।

पोखरेलले सुसाइट नोटमा आफूमाथि भएको विभागीय कारबाहीका कारण पक्राउ परेका चार जनामाथि लगाएको प्रहरी स्रोतले बताएको छ । सुसाइट नोटमा भनिएको छ, “विगतमा ममाथि लागेको आरोप मैले स्वीकार गर्नुपर्ने अवस्था आउनुको मुख्य कारण तपाईंहरू हो । तपाईंहरूको आगामी यात्रा सुखद रहोस् ।”

मृतकका परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेका फार्मेसी सेन्टरका प्रशासन प्रमुखसहित चार जनालाई आत्महत्या दुरुत्साहनमा आइतबार अदालतबाट अनुसन्धानका लागि अनुमति लिने तयारी भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्