Logo

सर्लाहीमा ३८ सय ८ जनाले लिए वंशजको नागरिकता



सर्लाही, असार ३१ । नेपालको नागरिकता संशोधित ऐन अनुसार सर्लाहीमा ३८ सय ८ जनाले वंशजको नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार जन्मका आधारमा नागरिकता पाएका अभिभावकका तिन हजार ८ सय ८ जना सन्तानले वंशजको नागरिकता लिएका हुन् । ऐन कार्यान्वयन भएको १८ दिनमा उक्त सङ्ख्यामा नागरिकता लिएका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले जानकारी दिए ।

प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्ला प्रशासन कार्यालय मलंगवाबाट एक हजार ७ सय ७९ जना, इलाका प्रशासन कार्यालय हरिवनबाट ८ सय १८ जना र इलाका प्रशासन कार्यालय बरहथवाबाट एक हजार २ सय ८ जनाले नागरिकताको प्रमाण पत्र लिएका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।

नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता९पहिलो संशोधन० ऐन २०७९ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नु भएको थियो । लगतै सर्वोच्चमा रिट परेपछि रोकिएको ऐन पुनः कार्यान्वयनमा आएपछि सर्लाहीमा आषाढ १० गतेबाट नागरिकता वितरण सुरु भएको हो । प्रशासन कार्यालयका अनुसार अझै २ हजार २ सय ९ जनाले नागरिकताको लागि अनलाइन टोकन लिएका छन् ।

जिल्ला प्रशासन र इलाका प्रशासन गरी तिन स्थानबाट दैनिक सय÷सय जनाको दरले वंशजको नागरिकता वितरण हुँदै आएको छ । यही अनुपातमा वितरण भइरहे १० दिनमा वितरण सम्पन्न हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दैनिक सय जनाको टोकन समय छुट्टाए पनि धेरै जनाले आवश्यक कागजात ल्याउन नसक्दा केही कम मात्रमा नागरिकता लिएर जाने गरेका छन् ।

यस कार्यालयले लाभग्राहीको सुविधाको लागि सम्बन्धित पालिका र वडा कार्यालयमा समेत आवश्यक कागजात पुर्‍याएर पठाइदिन परिपत्र समेत गरेको छ । जन्मसिद्ध नागरिकता धारी अभिभावको सन्ततिलाई वंशजको नागरिकता वितरण सुरु भए सँगै जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यलयहरुमा सेवाग्राहीहरूको भिड समेत बढेको छ ।

जिल्लामा दुई दिन यता एउटा पनि नयाँ टोकनको लागि आवेदन नपरेको जिल्ला प्रशासन कार्यालय मलंगवाका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot