Logo

बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन



बैतडी, ३० असार । जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा  ८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर  ८७ करोड  २३ लाख १४ हजार बजेट खर्च हुुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताए ।

यहाँका सबै स्थानीय तहमा चालू आर्थिक वर्षका लागि   पाँच अर्ब ६९ करोड १६ लाख ८१ हजार बजेट आएको थियो । सबैभन्दा बढी मेलौली नगरपालिकाबाट चालू र पुँजीगत दुवै गरेर  १३ करोड ३२ लाख २६ हजार बजेट खर्च गर्न हुन सकेन । उक्त नगरपालिकाबाट  ६० करोड ४० लाख ७८ हजारमध्ये  ४७ करोड आठ लाख ५२ हजार बजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सिगास गाउँपालिकाबाट  ५० करोड २० लाख ९३ हजार बजेटमध्ये आठ करोड ७१ लाख छ हजार खर्च हुन नसकेको  उक्त कार्यालयले जनाएको छ । सिगासले  ४१ करोड ४९ लाख ८७ हजार रकम मात्रै खर्च गरेको छ ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले  ६७ करोड ६४ लाख २६ हजार बजेटमध्ये ५८ करोड ९३ लाख चार हजार खर्च गरेको छ । उक्त नगरपालिकाले आठ करोड ७१ लाख २२ हजार  खर्च गर्न बाँकी देखिएको छ ।

पाटन नगरपालिकाबाट ७४ करोड १६ लाख ४१ हजारमध्ये  ६१ करोड ५८ लाख ५२ हजार मात्रै खर्च गरेको देखिएको छ । उक्त नगरपालिकाले १२ करोड ५७ लाख ८९ हजार खर्च गर्न बाँकी रहेको छ  । यसैगरी पुर्चौंडी नगरपालिकाबाट  ७१ करोड ६३ लाख ९६ हजार बजेटमध्ये ६२ करोड ८६ लाख ३४ हजार मात्रै खर्च भएको छ । उक्त नगरपालिकाले  आठ करोड ७७ लाख ६२ हजार खर्च गर्न बाँकी देखिएको छ । डिलासैनी गाउँपालिकाले पनि  ५२ करोड ३६ लाख १६ हजार बजेटमध्ये  ४४ करोड ४४ लाख १६ हजार मात्रै खर्च गरेको र   सात करोड ९२ लाख खर्च गर्न बाँकी रहेको छ ।

दोगडाकेदार गाउँपालिकाले ५५ करोड ६९ लाख ६० हजार बजेटमध्ये  ४७ करोड ९२ लाख ५४ हजार खर्च गरेको छ । उक्त गाउँपालिकाबाट   सात करोड ७७ लाख छ हजार खर्च  बाँकी रहेको छ ।
पञ्चेश्वर गाउँपालिकाको ४७ करोड ३९ लाख ५८ हजार बजेटमध्ये  ३९ करोड ३९ लाख २९ हजार खर्च भएको र  आठ करोड २९ हजार खर्च गर्न बाँकी रहेको हो । शिवनाथ गाउँपालिकाको  ४० करोड ४२ लाख ३२ हजारमध्ये ३४ करोड १८ लाख ६२ हजार खर्च भएको र   छ करोड २३ लाख ७० हजार खर्च गर्न बाँकी देखिएको छ ।

सुर्नया गाउँपालिकाको ४९ करोड २२ लाख ८१ हजार बजेटमध्ये  ४४ करोड दुर्ई लाख ७७ हजार खर्च भएको र  पाँच करोड २० लाख चार हजार खर्च गर्न बाँकी रहेको छ ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण समयमै योजना सम्पन्न नहुने गरेकाले बजेट खर्च कम हुने गरेको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । समयमै योजनाका काम सम्पन्न नहुने तथा असारमा आएर योजना सम्पन्न गर्ने र भुक्तानीको काम हुने गरेका छन् । उनले भने, “पालिकामा कर्मचारी सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण विवाद भएर काम नहुँदा पनि बजेट कम खर्च हुने गरेको छ ।”रासस



प्रतिक्रिया दिनुहोस्