Logo

नेपाली सेनाको संख्या कटौतीको बारेमा बहस हुनु दुःखद् हो : शंकर पोख्रेल



काठमाडौं, ३१ असार । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले नेपाली सेनाको संख्या कटौतिको विषयमा बहस हुनु दुःखद् पक्ष भएको टिप्पणी गरेका छन् । उनले नेपाली अहिले अस्थिरताको शिकार भएको र सामाजिक अराजकताका कारण राज्य पनि कमजोर बनेको अवस्था चित्रण गरे ।

उनले फेशबुकमा लेखेका छन-
नेपाली राजनीति अस्थिरताको शिकार भएको, सामाजिक अराजकताका कारणले राज्य कमजोर बनेको अवस्थामा नेपाली सेनाको भूमिका र संख्या कटौतिका वारेमा बहसहुनु दुःखद पक्ष हो । नेपाली सेनाको संख्या राष्ट्रको सुरक्षासंग मात्र होइन अन्तर्राष्ट्रिय शान्ति मिसनसंग पनि जोडिएको विषय हो । त्यसमाथि नेपाल सरकारले नेपाली सेनालाई आन्तरिक सुरक्षाका साथै विकास र विपदाको समयमा समेत प्रभावकारी रुपमा परिचालन गर्ने गरेको छ ।

निश्चयनै अन्य संस्थाजस्तै नेपाली सेनामा पनि समयानुकुल सुधार गर्नु र त्यसको व्यावसायिक दक्षतामा अभिवृद्धि गर्नु आवश्यक छ । तर मुलुकलाई राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुश्चक्रमा पारेर सार्वभौमसत्तालाई नै आघात पुर्याउने कुप्रयास भइरहेका वेलामा नेपाली सेनाको भूमिका र यसको औचित्यका वारेमा अनावश्यक रुपमा बहस हुनु दुःखद पक्ष हो । नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि नेपाली सेनाको गौरवपूर्ण भूमिकाको अभिवृद्धि नै हामी सबैको सरोकारको विषय हो र हुनु पर्दछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot