Logo

घट्यो ब्याजदर



काठमाडौंं, साउन १। वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् ।

विगतमा एउटै किसिमको हुनेगरी ब्याजदर तोकिँदै आएकामा अहिले भने पहिलोपटक ब्याजदरको कार्टेलिङ तोड्दै प्रतिस्पर्धात्मक तवरले ब्याजदर तोकिएको छ ।

नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै असार महिनाको तुलनामा साउनमा केही बैंकले ब्याज बढाएका र केहीले घटाएका छन् ।

संघले ब्याजदरमा भएको भद्र सहमति हटाएपछि बैंकहरूले स्वतन्त्र रूपमा आज (सोमबार)देखि लागू हुनेगरी ब्याजदर तोकेका हुन् । असारसम्म सबै वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा समान ९ दशमलव ९९ प्रतिशत ब्याज रहेकामा अब भने फरक फरक भएको छ ।

साउनमा वाणिज्य बैंकहरू आफैंले ब्याजदर निर्धारण गरे पनि ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूले छाता संगठनमार्फत ब्याजदर घटाएका छन् ।

धेरैजसो वाणिज्य बैंकहरूले आइतबार सूचना जारी गर्दै मुद्दती निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । केही बैंकहरूले भने असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

मुद्दती निक्षेपतर्फ सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, कुमारी बैंक, कृषि विकास बैंक र प्रभु बैंकले ब्याजदर घटाएका छन् ।

अधिक ब्याजदर कायम गर्नेे बैंकहरूमा क्रमशः एनएमबी, नबिल बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक रहेका छन् । त्यसैगरी हिमालयन, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स बैंकले स्थिर राखेका छन् । सबैभन्दा कम ब्याजदर भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ ।

सरकारको स्वामित्वमा रहेको कृषि विकास बैंकले बचत खातामा न्यूनतम ५ दशमलव ४० प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागततर्फ ७ दशमलव ५१ प्रतिशत र व्यक्तिगततर्फ ९ दशमलव ५१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १० दशमलव ५१ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot