Logo

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा आजदेखि पालिका बहस सुरु



काठमाडौं, साउन १ । नेपाली रेडियो नेटवर्कले आजदेखि पालिका बहस सुरु गरेको छ । हरेक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म प्रसारण हुँदै आएको नेपाली बहसमा आजदेखि पालिका बहस पनि समावेश गर्न थालिएको हो ।

पत्रकार ऋषि धमलाले सञ्चालन गर्दै आएको सर्वाधिक लोकप्रिय रेडियो कार्यक्रम नेपाली बहसमा अबदेखि स्थानीय तहका जनतालाई जगाउने र पदाधिकारीलाई जिम्मेवार बनाउने गरी पालिका बहस सुरु गरिएको नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारीले जानकारी दिए । स्थानीय तहलाई थप प्रभावकारी र जिम्मेवारमुखि बनाउन यस कार्यक्रमले सशक्त रूपमा आवाज उठाउने उनको विश्वास छ ।

कार्यक्रममा स्थानीय तहका प्रमुख वा अध्यक्ष र उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहितका पदाधिकारीहरू, उपविजेता, स्थानीय तह सम्बन्धी नीति निर्माता, विज्ञ, स्थानीय जनता र सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने उनले बताए ।

पालिका बहसको पहिलो शृङ्खलामा आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कार्यक्रमको प्रशंसा गर्दै सबैतिरबाट यस्तै प्रयासको आवश्यकता रहेकोमा जोड दिए। उनले जनताका आवाजहरू उठाउने नयाँ मोडलको सुरुवात भएको बताउँदै स्थानीय तहको समस्यालाई राष्ट्रिय मुद्दा बनाएकोमा धन्यवाद ज्ञापन गरेका छन्।

पालिका बहस स्थानीय तहमा भएका राम्रा कामहरूलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ सुरु गरिएको नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले जानकारी दिए।

त्यसैगरी नराम्रा कामहरूको भण्डाफोर गरेर निरुत्साहित गराउने, सरोकारवालाहरूलाई खबरदारी गर्ने, समस्याहरूको समाधान गराउने, स्थानीय तहको आवाजलाई देशव्यापी बनाउने उद्देश्य पनि कार्यक्रमको रहेको उनको भनाई छ ।

नेटवर्कले बिहान साढे ५ बजेको नेपाली खबरमा पनि स्थापनाकालदेखि नै खास खबरको रुपमा स्थानीय तहका असल अभ्यासहरूको समाचारलाई पहिलो समाचारको रुपमा प्रसारण गर्दै आएको छ । “राष्ट्रिय सञ्चार माध्यमको मुख्य बुलेटिनमा स्थानीय तहको समाचारलाई दैनिक रुपमा पहिलो समाचार बनाउने सञ्चार माध्यम सायद हामी मात्रै हौँला,” समाचार निर्देशक भण्डारीले भने।

उनका अनुसार स्थानीय तहका बारेमा सकारात्मक धारणा बनाउन र स्थानीय तहप्रतिको भरोसा र विश्वास बढाउन बिहानको खास खबरले धेरै योगदान गरेको छ ।

नेपाली रेडियो नेटवर्कमा अहिले रेडियो एनआरएन ९९।१ सहित देशभरी २०० भन्दा बढी स्थानीय रेडियोहरू आबद्ध छन् भने नेपाली नेटवर्क डटकम अनलाइन र नेपाली नेटवर्क अनलाइन टिभी पनि सञ्चालित छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot