Logo

सुशील कोइराला क्यान्सर अस्पतालको फेरिँदो रूपरंग



काठमाडौं, १ साउन । पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा-७, बाँकेले नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत एक थान एम्बुलेन्स तथा एक थान बस प्राप्त गरेको छ ।

भारतीय दुतावासद्वारा हिजो राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको उपस्थितिमा र भारतीय राजदूत नवीन श्रीवास्तवले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईलाई हस्तान्तरण गरे । स्वास्थ्य मन्त्रालयको समन्वयमा अस्पतालको अनुरोधलाई छोटो समयमै सम्बोधन गरिदिएकोमा भारतीय दुतावास परिवारलाई अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले विशेष धन्यवाद दिए ।

डा. भट्टराईले अस्पतालका कार्यकारी निर्देशकको सम्हालेको नौ महिनामै स्थानीय तह, सामाजिक संघसंस्था र सरकारी निकायसँगको समन्वयमा अस्पतालमा थुप्रै नयाँ र सुधारका काम भएका छन् । अस्पतालमा पश्चिम नेपालमै पहिलो लिन्याक मेसिन जडान भइरहेको छ भने पोजेटिम प्रेसर आईसीयू सञ्चालनमा आएको छ ।

अस्पतालमा २४ सै घन्टा ल्याब र एक्स-रे सुविधा सुरु भएको छ भने बिरामीले छिटोछरितो स्वास्थ्य सेवाका साथै अनलाइनबाट टिकट काट्न तथा रिपोर्ट हेर्न पाउने व्यवस्था भएको छ ।

खजुरा गाउँपालिकासँगको सहकार्यमा ब्लड बैंक स्थापना भई सञ्चालनको तयारीमा रहेको कार्यकारी निर्देशक डा. भट्टराईले जानकारी दिए ।  स्वास्थ्य सेवा विभागको समन्वयमा प्लाज्माफेरेसिस मेसिन ल्याई परीक्षण गरिसकिएको र शीघ्र सेवा सुरु हुने उनले बताए । ‘सुरक्षाको दृष्टिकोणले संवेदनशील क्षेत्र भएकाले अस्पताल परिसरमा गाउँपालिकाको सहकार्यमा हाई मास्ट लाइट जडान गरिएको छ,’ उनले भने ।

अस्पतालका अनुसार हस्पिस तथा प्यालिएटिभ केयरका लागि बनाइएको भवनको काम रोकिएकामा लायन्स क्लबसँगको सहकार्यमा काम सुरु भई अन्तिम चरणमा पुगेको छ । क्यान्सर अस्पतालको क्यान्सर केन्द्रित स्थायी दरबन्दी संरचना तयार भएको र साउनको सुरुमा पेस गर्ने गरी तयारी भएको उनले बताए ।

स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालयको समन्वय र सहयोगमा नेपालगन्ज भन्सारबाट १ थान जीप प्राप्त भई सञ्चालन गरिरहेको छ ।
अस्पतालका लागि डेडिकेटेड लाइनका लागि आग्रह गरेकोमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत भ्रमण गरी प्रक्रिया अगाडि बढेको र ट्रान्फर्मरका लागि आवश्यक बजेट पनि विनियोजित भइसकेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै एकमात्र क्यान्सर अस्पताल भएकाले पश्चिम नेपालका विभिन्न जिल्लामा क्यान्सर स्क्रिनिङ कार्यक्रम तथा क्यान्सर सम्बन्धी शिविर , जनचेतनामूलक कार्यक्रम  तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको उपस्थितिमा सम्मेलनसमेत  सम्पन्न भएका छन् ।

डा. भट्टराई नेपाल सरकारको कार्डियोथोरासिक तथा भास्कुलर सर्जनको दरबन्दीमा खटिएको पश्चिम नेपालमै पहिलो चिकित्सक हुन् । फोक्सो, स्तन, रक्तनली, खाद्यनलीका क्यान्सरका उपचारबाहेक पनि उनी किड्नी फेल भएका बिरामीको डायलाइसिस गर्न अत्यावश्यक ‘ए-भी फिस्टुला’ पनि बनाउँछन् ।

त्यसबाहेक दुर्घटनामा परी हात, खुट्टाका रक्तनली काटिएका बिरामीको रगतको नसा जोड्ने, अपरेसन गर्ने डाक्टर उनी मात्र भएकाले पश्चिमका धेरै बिरामी लाभान्वित भएका छन् भने अंगभंग हुनबाट जोगिएका छन् ।

बिरामीलाई यातायातको सहज व्यवस्था गराउनका लागि अस्पतालको गेटसम्म सार्वजनिक सवारी साधनको रुट कायम गरिदिन नेपालगन्ज उपमहानगरपालिका एवं कोहलपुर नगरपालिकासँग पहल भइरहेको डा. भट्टराईले जानकारी दिए ।

 

 



प्रतिक्रिया दिनुहोस्