Logo

बाबुराम संगठन विस्तारमा व्यस्त, गोरखा पुगेर वृक्षारोपण पनि गरे



काठमाडौं, १ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेका छन् । उनको पार्टीले आजबाट संगठन विस्तार अभियान सुरु गरेको छ । जसअन्तर्गत अध्यक्ष भट्टराई आफ्नो जिल्ला पुगेका हुन् ।

सो क्रममा उनले आज गोरखामा पालुङटार नगरपालिका–१ ज्योति चौतारामा वृक्षारोपणसहित नेसपा संगठन निर्माण तथा विस्तार अभियानको शुभारम्भ गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुसहित वृक्षारोपण गरेका तस्विरसमेत उनले सार्वनिक गरेका छन् ।

उनको दल यतिवेला सरकारमा पनि छ । केन्द्र सरकारमा महिन्द्र राय यादव खानेपानी मन्त्रालयको नेतृत्वमा छन् । बाग्मती र गण्डकी प्रदेशमा पनि उनको दलबाट एक÷एक जना मन्त्री छन् । यो बीचमा नेसपाले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने भनिएको थियो ।

तर, समाजवादी मोर्चा गठनमा आफूलाई समेट्ने भनेर पनि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धोका दिएको बाबुरामको निश्कर्ष छ । अहिले उनी माओवादीले धोका दिएको भन्दै आफ्नै पार्टीलाई बलियो बनाउनतिर लागिपरेका छन् ।

बरु, उनले नयाँ दलहरुसँग सहकार्यको मुड बनाएको चर्चा छ । तर, पार्टीका अरु नेताहरु भने माओवादीसँग एकता गर्ने पक्षमा छन् । यसको लागि उनीहरुले बाबुरामलाई दबाबसमेत दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्