Logo

मन्त्रालयले दुई वर्षसम्म प्रमुख प्रशासकीय अधिकृत नचलाओस् : मेयर ढुंगाना



काठमाडौं, २ साउन । नीलकण्ठ नगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले जनप्रतिनिधिको इच्छा आकांक्षा नभएर भन्दा पनि स्रोत, साधनको सीमितताका कारण पर्याप्त विकास हुन नसकेको औंल्याएका छन् ।
‘सरकारले स्थानीय तहलाई कुल बजेटको ५ प्रतिशत मात्र दिएको छ । ७५३ पालिकाको कुल बजेट ८७ अर्ब हो । हरेक जनप्रतिनिधिलाई मेरो पालामा राम्रो काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । जनप्रतिनिधिको इच्छा आकांक्षा नभएर होइन, स्रोत साधनको सीमितताका कारण विकास हुन सकेको छैन । क्रमशः हुँदै जान्छ, यो नियमित प्रक्रिया हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
मेयर ढुंगानाले आफूले सडक, खानेपानी र उद्यमशीलतामा जोड दिएको पनि बताए । उनले थपे, ‘म लामो समयदेखि जनप्रतिनिधि छु । नीलकण्ठको मेयरमा दोस्रोपटक निर्वाचित भएको हुँ । म आएपछि ९५ किलोमिटर चक्रपथमा बस चलिरहेको छ । पहिले आठ किलोमिटर मात्र पिच थियो भने अहिले सय किलोमिटर पिच छ । हरेक वर्ष ५ वर्षभित्र सबै वडा कार्यालयमा पिच बाटो जान्छ । ८५ प्रतिशत जनतामा खानेपानी पुगेको छ । मेरो उद्यमशील कार्यक्रम ल्याएर भूमिहीनलाई बिनाधितो दुई लाख र धितो भएकाले १५ लाख कर्जा दिइएको छ ।’
उनले सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत नियुक्ति लिएर गएपछि दुई वर्षसम्म नचलाउने संकल्प चाहिएको पनि औंल्याए ढुंगानाले भने, ‘प्रमुख प्रशासकीय अधिकृत राख्ने वा हटाउने हाम्रो कार्यक्षेत्रमा पर्दैन । त्यो काम सामान्य प्रशासन मन्त्रालयको हो । उसले विभिन्न स्वार्थमा ६ महिनामै सरुवा गरिदिन्छ । अहिले पनि २०० पालिकामा प्रशासकीय अधिकृत छैनन् । लेखा अधिकृत छैनन् । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नियुक्ति लिएर गएपछि कम्तीमा दुई वर्षसम्म नचलाओस् ।’
मेयर ढुंगानाले नेपाल नगरपालिका संघले संवैधानिक अधिकारमा भएका हस्तक्षेपमा प्रतिवाद, बहस र पैरवी गर्ने पनि बताए । उनले भने, ‘नेपाल नगरपालिका संघ भनेको २९३ नगरपालिकाको छाता संगठन हो । यसले भौतिक पूर्वाधारमा काम गर्ने होइन । संविधानतः प्राप्त अधिकारको हस्तक्षेप हुँदा सशक्त प्रतिवाद गर्ने, आफ्ना पक्षमा पैरवी र बहस गर्ने र जनचेतना अभिवृद्धिका काम गर्दै आएको छ ।’



प्रतिक्रिया दिनुहोस्