काठमाडौं, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । एक सातासम्म चल्ने बैठकमा अहिले नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ। संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफ्नो दल संसद्मा सबैभन्दा ठूलो दल भएको कारणले अहिलेको गठबन्धनलाई स्थिर र स्थायित्व बनाउने जिम्मेवारी रहेको सुनाए । उनले सत्ता गठबन्धनमा मात्रै नभएर विपक्षी दलहरुसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपरेको अवस्था सुनाए ।
उनले भने,‘विभिन्न दलको गठबन्धनमा सरकार बनेको छ। यो सरकारलाई स्थिर बनाउन कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपरेको छ । गठबनधनभित्रै उत्पन्न हुने विचारमा सामाञ्जस्यता ल्याउने काम पनि गर्नुपरेको छ । सदनमा पनि हाम्रो भूमिका उत्तिकै महत्वपूर्ण छ । सदन अवरोध भयो भने किन अवरोध भयो भनेर प्रश्न गरिन्छ । सभाको लागि प्रभावकारी र सुसञ्चालन पनि हाम्रो जिम्मेवारी हो । प्रतिपक्षी आक्रामक छ । एउटा गठबन्धनबाट अर्को गठबन्धनमा सरकार बनेको छ । त्यसैले उ आक्रामक छ । अहिलेलाई यत्ति भनौं, प्रमुख प्रतिपक्षी दल परिपक्व त छ, तर अधैर्य छ। नयाँ दलहरु अपरिपक्वतामा छन् । सत्ता गठबन्धनभित्र मात्रै नभएर प्रतिपक्षसँग पनि समन्वयकारी भूमिका खेल्नुपर्ने हामीसँग जिम्मेवारी छ ।’
उनले असल कानून र नीति निर्माण गर्न दलले अगुवाई गर्नुपर्ने सुनाए । यसको साथै, संक्रमणकालिन न्याय, सम्पत्ति शुद्धिकरणसम्बन्धी कानून निर्माण र संसदीय समितिमा सभापति चयनलगायतका काम बाँकी रहेको सुनाए । उनले भने,‘यसमा हाम्रो ध्यान जान जरुरी छ । संसदीय दलको कार्यसमिति पनि तत्काल बनउनुपर्छ । विषयगत समिति पनि सूचारु गर्नुपर्छ ।’
लेखकले सदनमा पार्टीका सांसदहरुको उपस्थिति कम रहेको गुनासो पोखे । उनले भने,‘हाम्रो माननीयहरु सदनमा उपस्थिति कम छ, अर्को कुरा माननीय सदस्यहरु उपस्थित् भएपनि दिनभरि बैठकमा बस्नुहुन्न । निर्णय गर्दा अल्पमतमा परिने डर छ । ह्वीप जारी हुँदापनि बहुमत नपुग्ने डर हुन्छ अनि संख्या गन्नुपर्ने अवस्था छ । पहिलो काम भनेको संसदमा उपस्थिति भइदिने हो । हाउस चल्दासम्म बैठकमा बस्न माननीयज्यूहरुलाई मेरो अनुरोध छ ।’
https://www.facebook.com/nepalicongresshq/videos/1243214783036663