Logo

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सकिएन सुनुवाई



काठमाडौं, २ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनाको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजोदेखि सुनुवाई भइरहेको उक्त मुद्दामा रिट निवेदकको तर्फबाट बहसका लागि धेरै अधिवक्ताहरु भएपछि सुनुवाई नसकिएको हो ।

ललिता निवास प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरुङ, सुधीरकुमार शर्मा, धर्मप्रसाद गौतम र नेपाल सरकारका सचिव कृष्णबहादुर राउतले गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

ललिता निवास प्रकरणमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत मुद्दा चलाएको थियो । उक्त मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । सो मुद्दामा मिनबहादुर गुरुङसहित प्रतिवादी रहेका छन् । तर, सचिव राउतलाई भने अख्तियारले मुद्दा चलाएको थिएन । ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले ४०६ जनालाई प्रतिवादी बनाएर पुनः अनुसन्धान सुरु भएको छ ।

सर्वोच्चले ललिता निवास जग्गा प्रकरणसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्