Logo

बझाङमा नुन पाउनै सास्ती



बझाङ,साउन ३ । थलारा गाउँपालिका–९ फकालीबाट आइतबार सहुलियतको नुन लिनका लागि जयबहादुर विष्ट, नन्नुदेवी विष्टलगायतका व्यक्ति सदरमुकाम चैनपुरमा पुगे । असार सकिएपछि नुन लिनका लागि चैनपुर पुगेका उनीहरूले सय रुपैयाँको ५ पोका नुन मात्रै पाए ।

बझाङको डिपोबाट आइतबार मात्रै सहुलियतको नुन बिक्री वितरण गरिन्छ । नुन वितरणमा दुरूपयोग भएको गुनासो आएपछि साताको एक दिन आइतबार मात्रै नुनको बिक्री वितरण गरिन्छ । तर, नुन लिनकै लागि सदरमुकाम चैनपुर आउँदा यातायात र खाजा खर्च जोड्दा उनीहरू हरेकको हजारदेखि १ हजार ५ सय रुपैयाँभन्दा बढी खर्च भइसकेको थियो । नुन लिनका लागि उनीहरू घण्टौं लाइनमा बसेका थिए । तर, उनीहरूले पाए जम्मा पाँच पोका । नुन सकिएको भन्दै उनीहरूलाई पाँच पोकामै चित्त बुझाउन बाध्य पारिएको थियो ।

त्यसो त जयबहादुरले धेरै नुन किन्ने सोचेका थिएनन् । उनको अन्तरमनलाई धेरै पाइँदैन भन्ने थाहा थियो । उनको विगतको अनुभवले त्यही भन्थ्यो । ३ सय रुपैयाँबराबरको १५ पोकासम्म पाइन्छ भन्ने उनले सोचेका थिए तर, १५ पोका पनि नपाएपछि उनी निराश बनेका छन् ।

‘नुन सकिएको भन्दै ५ किलोभन्दा बढी दिन मानेनन्,’ जयबहादुरले भने, गाडीभाडा र खाजा खर्च सबै गरेर १ हजार ५ सय रुपैयाँ खर्च भयो ।’

पर्याप्त नुन नपाउँदा चैनपुर आएकामा उनलाई पश्चाताप लागेको छ । ‘बेकारमा चैनपुर आइएछ,’ जयबहादुरले पश्चाताप मान्दै भने, ‘सहुलियतको नुन किन्नुु भन्दा घरनजिकैको भाँडेबजार, तमैल बजार, बगडगाउँबाट किनेको भए समयको नि वचत हुने, भने जति लिन पनि पाइने र पैसा पनि त्यति खर्च नहुने रहेछ ।’

थलारा–४ की ६० वर्षीया एकल महिला धर्मादेवी सिंहसमेत सहुलियतको नुनकै लागि भनेर सदरमुकाम चैनपुर गएकी थिइन् । बालुवा चालेर र गिट्टी कुटेर जम्मा गरेको सानो रकमले अनुदानमा पाइने नुन किन्ने आशाले चैनपुर पुगेकी उनले पनि ५ केजी मात्रै नुन पाइन् । उनले त्यहाँ नुन वितरण (उपलब्ध) गराउने कर्मचारीलाई २० पोकासम्म दिन बारम्बार अनुरोध गरिन् तर कर्मचारीले मानेनन् । ‘नुन सकिन लागेको छ, अहिले यति लानुस्, यसभन्दा बढी पाइँदैन,’ कर्मचारीको जवाफले उनी निराश बनिन् ।

६ महिना वा वर्ष दिनका लागि नुन लिएर जाने उनको योजना थियो । तर, भने जति नपाउँदा बेकारमै सहुलियतको नुन लिन आइयो भनेर उनलाई पनि लागेको छ । ‘घरदेखि चैनपुरसम्मको र चैनपुरदेखि घरसम्मको गाडीभाडा मात्रै ८ सय ५० रुपैयाँ लाग्यो अनि खाना, नास्ताको जोड्दा १ हजार ५ सय रुपैयाँभन्दा बढी खर्च हुन गयो,’ उनले भनिन्, ‘सस्तोमा नुन पाउने आशले नै चैनपुर पुगेकी थिएँ तर भनेजति नुन पाउन मुस्किल रहेछ, पाँच किलोमै चित्त बुझाउनुप¥यो ।’

यो पीडा उनीहरूको मात्रै नभएर सबै बझाङवासीको हो । नुन अपुग हुने भन्दै साल्ट ट्रेडिङ डिपो कार्यालय बझाङले प्रतिपरिवार ५ किलो मात्रै नुन दिन सुरु गरेको छ । सो कार्यालयले ५ किलो नुन वितरण गर्न सुरु गरेको दुई महिना भयो । भने जति नुन दिएको खण्डमा बझाङमा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिनुपरेको साल्ट ट्रेङिङ डिपो कार्यालय बझाङका डिपो प्रमुख नरबहादुर भाटले बताए ।

सरकारले बझाङका लागि सुरुमा ४ हजार क्विन्टल सहुलियतको नुन उपलब्ध गराएको थियो । त्यसपछि घटाएर ३ हजार क्विन्टलमा झा¥यो । अहिले त्यसबाट पनि घटाएर २ हजार ६ सय क्विन्टल दिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot