काठमाडौं, साउन ३ । केही महिनाअघिसम्म दुध अभाव झेलिरहेका डेरी उद्योगीलाई अहिले बढी भएको दुध कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भइरहेको छ ।
गाईबस्तुमा लागेको ‘लम्पी स्किन’का कारण दुध उत्पादन घटेको छ । तैपनि डेरीवालासँग बढी भएको दुध कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ । नेपालमा दैनिक ६५ लाख लिटर दुध उत्पादन हुन्छ । अहिले पशुमा लागेको रोगका कारण ५० लाख लिटरमा झरेको छ । यसले यति बेला दुधको हाहाकार हुनुपर्ने थियो तर अहिले तीन लाख लिटरभन्दा बढी दुध बढी भइरहेको छ, जसलाई व्यवस्थापन गर्न डेरीवालालाई धौधौ परिरहेको छ ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार अहिले नेपालमा दैनिक तीन लाखभन्दा बढी लिटर दुध धेरै भइरहेको छ । बढी भएको दुधलाई कसरी व्यवस्थापन गर्ने चिन्ता भइरहेको बताउँदै उनले यो सिजनमा दुध बढ्ने होइन, दुध घट्नुपर्ने हो तर एक्कासि दुध बढेर आएको छ, त्यसलाई खपत गर्न धौधौ परेको बताए।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले यो दुधका लागि सुक्खा सिजन हो, यो सिजनका लागि डेरीवालाले धुलो दुध बनाएर राख्थे र दुध कम भएका बेला धुलो दुध प्रयोग गर्थे तर अहिले बजारमा दुध अत्यधिक बढी देखिएको बताए।
उनले भने, “हामीले सामान्य अध्ययन गर्दा चार कारणले दुध बढी भएको छ, उपभोक्ताको क्रयशक्ति घटेका कारण धेरैले दुधमा कटौती गरेका छन् । अर्को कारण, लम्पी स्किन हो, किसानका घरमा गाईबस्तुमा यदि रोग लागेको छ भने त्यो दुध आफैँ नखाएर बजारमा नै पठाउने गरेका छन् । तेस्रो कारण, भारतबाट दुध अवैध रूपमा अत्यधिक आउन थालेको छ र चौथो कारण धुलो दुधको प्रयोग ।”
नेपालमा ६५ रुपियाँ लिटर दुध पाइन्छ भने भारतको विहारमा भारु ३४ मा प्रतिलिटर दुध पाइन्छ । भारतभन्दा नेपालमा १० रुपियाँ महँगो भएका कारण सीमावर्ती क्षेत्रका भारतीय किसानले नेपालमा आएर दुध बेचिरहेका कारण नेपालमा दुध अत्यधिक भएको सरोकारवाला बताउँछन् ।
भारतमा दुध सस्तो पाइन्छ भनेर केही डेरीवालाले सीमा क्षेत्रमा सङ्कलन केन्द्र खोलेका छन् । त्यहाँ भारतीय दुध अवैध रूपमा खरिदबिक्री हुन्छ । केही डेरीवालाले त नेपालको दुध खरिद गर्न नै छाडिसकेको गुनासो आइरहेको छ । गोरखापत्र दैनिकबाट