काठमाडौं, साउन ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दैछन् ।
आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड अहिले बिहान ११ बजेपछि गोरखा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उद्घाटन कार्यक्रममा धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहने छ।
आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गर्ने तयारी रहेको प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए।
कुल एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ ।
काठमाण्डौमा कम्पनीको प्रधान कार्यालय गएको असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए। इकाइको कार्यालय रहेको गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा कम्पनीको कार्यालय स्थापना हुनेछ ।
सरकारले आयोजना प्रभावितलाई अहिलेसम्म ३४ अर्ब ३० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको छ ।त्यस्तै, घर गोठ, बोटबिरुवातर्फ छ अर्ब ७० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण भइसकेको छ ।
मुआब्जा वितरणको काम अन्तिम चरणमा छ । आयोजना प्रभावितले अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गर्दै आएका छन् । यस्तै, मुआब्जा वितरणको काम तत्काल सम्पन्न गर्न तथा अन्य व्यवस्थापकीय कामलाई गति दिनसमेत उनीहरूको माग छ ।