Logo

पुराना पार्टी सदस्य घट्छन्, नयाँ थपिन्छन् : एमाले सचिव



काठमाडौं, ३ साउन । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले अनुचित र स्वार्थकेन्द्रित गठबन्धनका कारण जनतामा निराशा छाएको आरोप लगाएकी छन् ।
‘हो, जनतामा निराशा छाएको छ । यसको मुख्य कारण वर्तमान गठबन्धन नै हो । हामीले एक महिना सरकारमा बस्दा धेरै काम सुरु गरेका थियौं । आर्थिक हिसाबले मुलुक कसरी जान्छ भन्ने स्पष्ट खाका बनेको थियो । अहिलेको निराशामा सबैलाई दोष लगाउन मिल्दैन । यसमा सबभन्दा जिम्मेवार गठबन्धन सरकार नै छ । राज्य सञ्चालकले जवाफदेही र जिम्मेवार बनाउने काममा एमाले बरालिएको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
एमाले सचिव अर्यालले पार्टी सदस्यता नवीकरण गर्ने नघटेको र घटेको भए पनि नयाँ सदस्यले त्यसलाई पूर्ति गर्ने बताइन् । उनले भनिन्, ‘एमालेले सशरीर सदस्यता नवीकरण गर्ने अभ्यास गर् यो । त्यसैले विदेश गएका, पार्टीमा बस्न अनिच्छा गरेका वा मरेका व्यक्तिको सदस्यता अलिकति घट्यो । अब त्यो भर्ने नयाँले भर्ने हो । पुरानाले कति नवीकरण गर् यो भन्दा पनि नयाँ कति आउँछन्, त्यो महत्त्वपूर्ण हो ।’ एमालेप्रति नयाँ पुस्ताको आकर्षण रहेको पनि अर्यालले बताइन् ।
पूर्व कृषि मन्त्री समेत रहेकी अर्यालले वित्तीय सहकारीमा संकट देखापरे पनि त्यसको नियमन प्रभावकारी हुनुपर्ने औंल्याइन् । उनले भनिन्, ‘संघीयतासँगै सहकारीको अधिकार स्थानीय तहमा गएको छ । उनीहरुले पनि प्रभावकारी ढंगले काम गर्न सकेको छैन । उत्पादन, रोजगारीमा जोड दिने सहकारी आफैंमा गलत होइन । केही सहकारीको गल्तीका कारण सबैलाई दोष दिन मिल्दैन ।’ आजको दिनमा सहकारी अर्थतन्त्रको एक खम्बा भएको पनि उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस्