Logo

माओवादी केन्द्रले पनि कांग्रेसले जस्तै केन्द्रीय समिति बैठक फेसबुक ‘लाइभ’ गर्ला ?



काठमाडौं, ३ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) को प्रवेशसँगै पार्टीमा भुइँचालो नजाने दाबी गरेका छन् ।
‘पहिलो कुरा त विप्लवजी आउने कुराले वर्षमान पुन र जनार्दन शर्मा असन्तुष्ट भए भन्ने कुरा साँचो होइन । यो एकाध अनलाइनको प्रायोजित समाचार हो । उहाँहरु पनि बाबुरामजी, किरणजी र विप्लवजी लगायत पूर्वमाओवादीहरु एक हुनुपर्छ भनिरहनुभएकै छ । अनेक बार्गेनिङ गरेर पद र जिम्मेवारी लिनुभन्दा पनि आन्दोलन जोगाउनु आजको आवश्यकता हो । अब हामी पुनर्जीवित र पुनर्संगठित हुने हो । हामी नाम फेरौंला, शैली फेरौंला, काम गर्ने तरिका फेरौंला । यो विषयले भुइँचालो ल्याउँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सचिव पौडेलले युवाहरुलाई अगाडि ल्याउने कुरामा पार्टी नेतृत्व लचिलो हुने पनि बताए । साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुने र सत्य निरुपण तथा मेलमिलाप विधेयकलाई सहमतिमा टुंगो लगाउन लाग्ने पनि बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त नेपाली कांग्रेसलाई माओवादीको परमभक्त हनुमान भएको बताउनुभएको छ नि भन्ने प्रश्नमा पौडेलले भने, ‘त्यसो भन्न मिल्दैन । कांग्रेसको आफ्नै विचार, दर्शन छ । तर पछिल्लो राजनीतिक परिवर्तनमा हामी सँगै थियौं । हिजो कांग्रेस एमालेसँग पनि मिलेकै थियो । अब हामी आलोचनात्मक संस्कृतिभन्दा माथि उठ्नुपर्छ ।’
कांग्रेसले केन्द्रीय समिति बैठकको फेसबुक लाइभ गरिरहेको छ, तपाईंहरु पनि गर्नुहुन्छ भन्ने प्रश्नमा माओवादी केन्द्रका सचिव पौडेलले भने, ‘कांग्रेस लोकतन्त्र र लोकतान्त्रिक संस्कृतिमा विश्वास गर्छ । आजको सूचना प्रविधिको युगमा जनतालाई प्रत्यक्ष थाहा पाउने गरी लाइभ गरेको छ । जनताले कांग्रेसका आन्तरिक विषय थाहा पाउन अन्य स्रोत प्रयोग गर्नु परेन । यो राम्रै तरिका हो ।’



प्रतिक्रिया दिनुहोस्