Logo

चन्दा नदिएपछि सुन पसलको सटरमुनि शङ्कास्पद वस्तु राखेर धम्की



काठमाडौं, साउन ३ । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

बुधबार बिहान ६० वर्षीय मने विश्वकर्माले सञ्चालन गर्दै आइरहेको खोटाङ हेलेसी ज्वेलर्सको सटरमुनि शङ्कास्पद वस्तु भेटिएको थियो । शंकास्पद बस्तुसँगै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।

उक्त बस्तु आफूले मागेको पैसा नदिएपछि अञ्जान व्यक्तिले राखेको हुनसक्ने सञ्चालकको भनाई छ । ज्वेलर्सका सञ्चालकका अनुसार आज मात्रै अञ्जान व्यक्तिले पैसा माग्नका लागि उनलाई ९ पटक फोन गरेका छन् ।

सटरमा टाँसिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ’

अहिले त्यो क्षेत्र प्रहरीको नियन्त्रणमा छ । अहिले नेपाली सेनाले शङ्कास्पद वस्तु डिस्पोजलको तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot