Logo

प्रयोगमा नआउँदै बिग्रिए वाकिट्वाकी



दाङ, साउन ४ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई युएसए आइडी तयार नेपालले दिएका वाकिट्वाकी सेट प्रयोगमा नआउँदै बिग्रिएका छन् । बाढी, पहिरो, हावाहुरी, भूकम्पजस्ता विपद्को समयमा सञ्चार विच्छेद हुँदा वा नेटवर्कले काम नगर्दा १९ वटै वडालाई एकैपटक जोड्ने उद्देश्यले तयार नेपालले वाकिट्वाकी उपलब्ध गराएको थियो ।

गत ८ असारमा १९ वटै वडालाई प्रतिगोटा एकवटाका दरले वितरण गरिएको थियो । तर, अहिलेसम्म एकपटक पनि सेटमार्फत दोहोरो कुरा नभएको तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष मोहन पौडेलले बताए ।

वाकिट्वाकी लग्दा १९ वटै वडाका वडाध्यक्ष, मेयर÷उपमेयरसँग सहज रूपमा कुरा हुने भयो भन्दै खुसी भए पनि प्रयोगमा नआउँदा जापानिज रेडियो भनेर चाइनिज रेडियो भिराइदिएको जस्तो अनुभूति भएको अध्यक्ष पौडेलले गुनासो पोखे । सेटमार्फत कुरा पनि नहुने र चार्ज पनि २ मिनेट नटिक्ने भएकाले फिर्ता दिने तयारी रहेको वडाध्यक्षले बताएका छन् । बिग्रिएका कारण सेट प्रयोगमा नआएपछि अन्य ५, ६, ७, ९, ११ र १९ नम्बरका वडा अध्यक्षले वाकिट्वाकी लग्न मानेका छैनन् ।

तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगीका अनुसार तयार नेपालले २३ वटा वाकिट्वाकीका लागि ९ लाख ३१ हजार ५ सय रुपैयाँ खर्च गरेको छ । जसलाई भाग लगाउँदा प्रतिसेट ४० हजार ५ सय रुपैयाँ पर्न जान्छ । दिनेले राम्रो दिन खोजे पनि खरिद गर्दा विक्रेताले कमसल खालको दिँदा ब्याट्रीमा समस्या आएको हुन सक्ने शाखा प्रमुख डाँगीले बताए ।

यता युएसए आइडीअन्तर्गत तयार नेपालका तुलसीपुर फिल्ड कोर्डिनेटर श्रमलाल चौधरीले प्रत्येक वडामा सञ्चार सेट पुगेको र राम्रोसँग सञ्चालनमा आइरहेको दाबी गरे । सञ्चार सेट प्रयोगमा नआएको भन्न नमिल्ने भन्दै चौधरीले बिचमा चार्ज नगर्दा कहिले काँही समस्या देखिन सक्ने बताए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्