Logo

बाल मुटुरोगको समस्या बढ्दो



काठमाडौं, साउन ४ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मात्र वार्षिक २५० जना बालबालिकाको मुटुको शल्यक्रिया हुँदै आएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अरू दुई सय जनाको शल्यक्रिया हुन्छ। शल्यक्रियाबाहेक वार्षिक पाँचदेखि सात सय बाथ मुटुरोग भएका बालबालिकाको उपचार हुने गरेको छ।

यो तथ्याङ्कले बालबालिकामा मुटुरोगको समस्या बढ्दो क्रममा देखाउँछ। बाल मुटुरोगमा जन्मजात मुटुको समस्या र मुटुमा प्वाल हुने देखिएका छन्। प्वालको उपचार शल्यक्रिया हो।

मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले मनमोहनमा वार्षिक दुई सय जना बालबालिकाको मुटुको शल्यक्रिया हुने जानकारी दिए। उनले कतिपय बालबालिका रिफर भएर आउने गरेको बताए। त्यसरी रिफर भएर उपचारका लागि काठमाडौँ नआउने बालबालिका पनि हुन्छन्।

नेपालमा एक प्रतिशत बालबालिकामा मुटुरोग रहेको तथ्याङ्क छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका बाल मुटुरोग विशेषज्ञ ड. मनीष श्रेष्ठले अस्पतालमा वार्षिक पाँच हजारभन्दा बढी बालबालिका मुटुको समस्या लिएर आउने गरेको जानकारी दिए। सरकारले १४ वर्षमुनिका बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने गरेको छ।



प्रतिक्रिया दिनुहोस्