Logo

‘राजा वा जर्नेललाई जस्तो पार्टी सभापतिको स्तुति गाउनैपर्छ र !’



काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले पार्टी सभापति शेरबहादुर देउवाले मात्र नभईकन सबैजसो नेता गुटबन्दीमा लागिरहेको औंल्याएका छन् ।
‘केन्द्रीय समितिका बैठकमा बहस र छलफल भइरहेको छ । नेताहरुमाथि प्रश्न पनि उठेका छन् । नेता भनेका जर्नेल वा राजा त होइनन् नि । उनीहरुको स्तुति मात्र गाउनुपर्छ भन्ने छैन । जहाँसम्म गुटबन्दीको कुरा छ, त्यो पार्टी सभापतिबाट मात्र होइन सबै नेताले गरेका छन् । पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुन्छ । त्यसका नकारात्मक पाटो कम गरेर सकारात्मक पाटोको पक्षमा लाग्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता रायमाझीले लोकतन्त्रमा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प छैन भन्न नमिल्ने पनि बताए । उनले थपे, ‘लोकतन्त्र भनेकै विकल्पहरुको व्यवस्था हो । विकल्प सबैको हुन्छ नि । शेरबहादुरजी, गगन थापा, विश्वप्रकाश शर्मा वा मेरो सबैको विकल्प छ । हामीले एउटा व्यक्तिका रुपमा हेर्ने होइन, समग्र कांग्रेसलाई हेर्ने हो ।’
आफ्नो समय आएपछि देउवा सभापति पदबाट हट्ने पनि उनले बताए । रायमाझीले भने, ‘एउटा समय आएपछि शेरबहादुरजी हटिहाल्नुहुन्छ नि । त्यसको वैधानिक व्यवस्था छँदै छ नि । सम्भावना नभएको राजनीति हुन्न । अहिले त्यस्तो परिवर्तनको के अर्थ छ र ? तीनतीन महिनामा दलको नेता किन बदल्ने ?’ साथै उनले विधानले विशेष महाधिवेशनलाई नरोकेको पनि बताए ।
पार्टीको केन्द्रीय समिति बैठक फेसबुक लाइभ गर्नुपर्ने के बाध्यता थियो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता रायमाझीले भने, ‘कुनै बेला महिलाले भोट हाल्यो, बाहुनले खेत जोत्यो भने पनि आत्तिनुपर्ने अवस्था थियो । अहिले प्रविधिको युग हो । सभ्य मानिस अनुशासित र सुसंस्कृत हुनैपर्छ । पार्टीको गोप्यता भंग भयो भन्ने पाटो पनि छ । कतिपय अवस्थामा पार्टी सभापतिका विरुद्ध नै बोल्नुपर्ने हुन्छ । साइड इफेक्ट त हरेक कुराको हुन्छन् नि ।’
महामन्त्री गगनकुमार थापाको कार्यक्रमिक प्रतिवेदन राम्रो भए पनि त्यसको कार्यान्वयन पक्ष जटिल रहेको पनि रायमाझीले औंल्याए । उनले भने, ‘विगतमा विधानले गरेका व्यवस्था अनुसार काम भएको छैन । पुरानै काम नभएको अवस्थामा नयाँ कुरा आएको छ । तर यसलाई छाडेर जाने अवस्था पनि छैन । त्यसलाई परिमार्जित गरेर जानुपर्छ । गगनजीले प्रस्ताव भनेको पार्टीकै प्रस्ताव हो ।’
रायमाझीले पार्टी कमजोर भए पनि मासिने स्थिति नरहेको बताए । उनले थपे, ‘कांग्रेस मासिएको होइन, कमजोर भएको हो । कमजोर भएर नै गठबन्धन गरेर चुनाव लड्नुपर् यो, गठबन्धनकै सरकार बनाउनुपर् यो । तर पहिलो पार्टी त कांग्रेस नै हो नि । राजनीतिक रुपमा कांग्रेसले सबैलाई एक ठाउँमा ल्याएको छ । देश ट्रयाकमा आएको छ । अब गठबन्धनलाई समेटेर सरकारलाई बलियो बनाएर लैजाने दायित्व पनि कांग्रेसमै छ ।’
तत्काल गठबन्धन सरकार परिवर्तनको अवस्था नरहेको पनि रायमाझीले दाबी गरे । उनले भने, ‘गठबन्धन सरकार मिलुन्जेल चल्छ, नमिलेपछि बदलिन्छ । प्रचण्डजी शालीन ढंगले नै चल्नुभएको छ ।’ एक क्विन्टल सुन समातिनु सकारात्मक भएको पनि उनले औंल्याए । रायमाझीले भने, ‘पहिले पहिले पनि सुन बरामद हुन्थ्यो, जनतालाई थाहै हुँदैनथ्यो । समातिएको सुन नारायणहिटी दरबारतिर जान्थ्यो, अहिले राज्यकोषमा जान्छ, जनताको ढिकुटीमा जान्छ । बच्चाको लिटो किन्न खर्च हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot