Logo

व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्दै, चरित्रहत्या गर्नेविरुद्ध कानूनी उपचार खोज्ने



काठमाडौं, साउन ४ । व्यवसायी दीपक मल्होत्राले राजस्व अनुसन्धान विभागले मंगलबार बरामद गरेको करिब एक सय केजी सुनमा आफ्नो नाम जोडिएको भन्दै आपत्ती जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन बरामदको विषयमा विभिन्न सञ्चार माध्ययमहरुमा आफ्नो नाम जोडेर भ्रमित समाचार सम्प्रेषण भईरहेको जनाउँदै उनले आज दिउँसो १ बजे दरवारमार्गस्थित होटल रोयल सिङ्गीमा पत्रकार सम्मेलन गरेर खण्डनको तयारी गरेका छन् । मल्होत्राले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दा हाल्दै कानूनी उपचार खोज्ने बताएका छन् ।

सुन तस्करीको विषयमा आफ्नो कुनै संलग्नता नरहेको र सार्वजनिक समाचारहरुमा कुनै सत्यता नरहेको जनाउँदै उनले पत्रकार सम्मेलन गरेर थप प्रष्ट पार्न लागेका हुन् । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बुधबार बरामद गरिएको हो ।

विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा.२च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो करिब २ बजे नै भन्सार पास भएको थियो । त्यसको तीन घण्टापछि बरामद भएको हो ।

बरामद भएको सुन तस्करीमा संलग्न भएको आरोपमा हालसम्म एजेण्ट सहित ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको पहिचान खुलाइएको छैन । उनीहरुमाथी अनुसन्धान जारी छ । बरामद भएको सुनको विषयमा छानविन गर्न भन्सार विभागले एक समिति गठन गरेको छ। विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।



प्रतिक्रिया दिनुहोस्