Logo

सेनाको संख्या कटौती गर्नु देशका लागि घातकः पूर्व उपरथी सिलवाल



काठमाडौं, ४ साउन । नेपाली सेनाका पूर्व उपरथी डा. पूर्ण सिलवालले नेपाली सेना सबैभन्दा बलियो, व्यवसायिक र सक्षम संगठन भएको बताए छन् । सरकारले स्वीकृत गरेको सेनाको संख्या ९६ हजार रहेको उनले बताए । नेपाली सेना लोकतन्त्रको खम्बा भएको र सेना कमजोर हुँदा लोकतन्त्रमा पनि संकट आउने उनको दाबी छ ।

अहिले नेपाली सेनाको संख्या कटौती गर्नु एकदमै घातक हुने उनले बताए । यसले देशलाई कमजोर बनाउने उनको दाबी छ । विदेशी शक्तिहरुको चलखेलमा नेपाली सेनाको संख्या घटाउने कुरा उठिरहेको उनको भनाई छ ।

नेताले आफ्नो देशका सेना कसरी बलियो हुन्छन् भनेर सोच्न आवश्यक रहेको उनले बताए । सेना कमजोर रहेको लागे वा देशमाथि विदेशी शक्तिबाट हस्तक्षेप भएको खण्डमा लड्न नसक्ने भए लड्न सक्ने बनाउने जिम्मा नेताहरुकै भएको उनले बताए ।

‘देशको नेतृत्वकर्ताहरुले सेना लड्न सक्छ भनेर प्रश्न गर्ने होईन । लड्न नसक्ने भए, लड्न सक्ने बनाउने जिम्मा उहाँहरुको हो,’– उनले भने ।

विश्वमा नेपालभन्दा साना देशहरुमा पनि सेनाको संख्या नेपाली सेनाकोभन्दा बढी रहेको उनले बताए । माओवादी द्वन्द्वको बेलामा नेपाल भ्रमणमा आएका अमेरिकी सेनाको जनरलले नेपाली सेनाको संख्या दुई लाख बनाउन आवश्यक रहेको बताएकोसमेत उनले स्मरण गरे ।

‘अमेरिकी जनरल माओवादी विद्रोहको बेलामा नेपालमा आउनुभएको थियो । उहाँले एक दुई ठाउँमा नेपालको भिजिट गरेपछि नेपालको सेना त दुई लाख हुनुपर्ने भन्नुभएको थियो त्यतिखेर । अहिले त्यसको संख्या आधाभन्दा पनि कम छ ।’ उनले भने, ‘हामीभन्दा सानो देश श्रीलङ्कामा झण्डै तीन लाख छ । बंगलादेश र हाम्रो क्षेत्रफल बराबरी छ, उसको सेना साढे दुई लाख छ । यो त हाम्रो सबैभन्दा सानो हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot