Logo

काठमाडौं महानगरको फोहर अझै केही दिन नउठ्ने



काठमाडौं, ४ असार । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए ।

“यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चार÷पाँच दिनसम्म उठ्ने सम्भावना छैन”, उनले भने, “कि मान्छे हटाऊ, कि फोहर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग रहेको छ । विस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो ।”

फोहर विसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । “स्थानीय बासिन्दाले फोहरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका छन् । महानगरपालिका यस विषयमा छलफल गरी स्थानीयवासीको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ” उनले भने ।

राज्यले ऐक्यबद्धता नजनाएसम्म अवरोध नहट्ने स्थानीयवासीको माग रहेको धुनिबेसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए । राज्यले स्थानीयवासीलाई कहिलेसम्म समस्या समाधान हुनसक्छ भन्ने यकिन गर्नुपर्ने उनले बताए ।

यस सम्बन्धमा काठमाडौँमा भइरहेको विभिन्न सम्झौतालाई स्थानीयमाझमा ल्याई सहमति जनाउनुपर्ने उनको भनाइ थियो । “यति समयभित्र समस्या समाधान हुनसक्छ भन्ने ऐक्यबद्धता राज्यले जनाउनुपर्ने स्थानीयवासीको माग छ”, उनले भने,“पटक–पटक महानगरपालिकासँग गरिएका सम्झौता के कति पूरा भए भन्नेबारे एकीन हुनुपर्छ । स्थानीयवासीको माग नयाँ होइन, पुरानै हो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot