काठमाडौं, साउन ५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिमाणको सुन बरामद विषयमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ ।
विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिले पाँच दिनदेखि बढीमा सात दिनभित्र प्रतिवेदन दिइसक्नुपर्ने समय पाएको छ ।
समितिले विमानस्थलको भन्सार जाँचपासमा ककसको संलग्नता भएको भन्ने’bout छानबिन गर्नेछ । विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।
भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई भन्सार विभागले बिहीबार बिहानै निलम्बनको जानकारी दिइसकेको छ ।
मंगलबार हङकङको क्याथे प्यासिफिक एयर हुँदै आएको सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको थियो ।
मोटरसाइकल तथा स्कुटरको ब्रेकसुमा लुकाएर हङकङबाट तस्करी गरिएको सो सुन ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको जहाजबाट सो सुन काठमाडौं ल्याइएको थियो ।
सुन तस्करी भइरहेको कच्चा सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार गोप्यतवरले सिभिल ड्रेसमा खटेर भन्सारमा निगरानी बढाएको थियो । विमानस्थलको यात्रु गेटदेखि कार्गो क्षेत्रका भित्र र बाहिर अत्यन्तै गोप्य अप्रेसन गर्दै कडा निगरानीमा रहेको टोलीले ट्याक्सी जम्मा गरेर निस्किँदै गर्दा सुन बरामद गर्न सफल भएको हो ।
राजस्व अनुसन्धान विभागले तीन महिनाअगाडि मात्र सञ्चालनमा आएको रेडी ट्रेडर्सले सुन तस्करी गरिरहेको सूचना पाएको थियो । बरामद भएको सुन कति हो भन्ने यकिन अहिलेसम्म हुन सकेको छैन । मोटरसाइकल र स्कुटरको ब्रेकसु बनाएर ल्याएको हुनाले सुन नै कति भनेर यकिन हुन नसकेको राजस्व अनुसन्धान विभागले जनाएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले सुनको यकिन परिमाण पत्ता लगाउन एक हप्ता लाग्ने जनाएको छ । राजस्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित टक्सार विभागमा पठाएको थियो । राजस्व राष्ट्रबैंकले जोखेको ती ब्रेकसुको कुल तौल १ सय ५५ किलो आएको छ । त्यसमा अन्दाजी १ सय किलो सुन हुनुपर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
जम्मा १ सय ६० वटा ब्रेकसुमध्ये एउटाबाहेक सबैमा सुन भेटिएको बताइएको छ । ती ब्रेकसुबाट सुन निकालेर सुनको मात्रै तौल जोखिन एक हप्ता लाग्ने बताइएको छ ।
बिहीबार नै रेडी ट्रेडर्सको नाममा अर्को लटको सामान आएपछि अनुसन्धान विभागको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को सामानमा पनि सुन नै हुनुपर्ने आशंकामा गएको थियो । तर, छानबिन क्रममा सो सामानमा भने सुन फेला परेको थिएन ।
सरकारले यसअघि ८८ किलो र ३३ किलोबाहेक ठूलो परिमाणको सुन पक्राउ गर्न सकेको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा बुधबार मध्याह्न ‘रेडी ट्रेड’को ८ बाकस सामान भन्सार जाँच हुँदै बाहिरिने तर्खरमा थियो ।
जहाजको कार्गाेमार्फत स्कुटर र बाइकको ब्रेकमा प्रयोग हुने ‘ब्रेकसु’ र दाह्री काट्ने रेजर भन्दै भन्सार पार गराइएको थियो । विमानस्थलको भन्सार र सुरक्षा जाँच सेटिङमा भएकाले सहजै पार भइसकेको थियो । सामान लिन जाने दिलिप भुजेल सोहीअनुसार भन्सार शुल्क बुझाएर निस्केका थिए ।
ती व्यक्ति विमानस्थलबाहिर रहेको ट्याक्सीसमातेर सिनामंगल हुँदै जान लागेका थिए । सिनामंगल पुगेपछि उनी चढेको ट्याक्सीलाई राजस्व अनुसन्धान विभागका कर्मचारीले रोके र ट्याक्सीमा रहेका आठ बाकस सामान नियन्त्रणमा लिए । ट्याक्सीमा रहेका मानिस र चालकलाई पनि नियन्त्रणमा लिइयो ।
बुधबार विमानस्थलबाट ठूलो परिमाणमा कार्गोमार्फत सुन आउँदै गरेको सुराकी राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले १० दिन अगाडि नै पाइसकेका थिए ।