Logo

माथिल्लो तहको संरक्षणबिना सुन तस्करी हुनै सक्दैन  : पूर्वगृहराज्यमन्त्री कँडेल



काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले उपल्लो तहको ‘सेटिङ’ र सलंग्नताबिना एक क्लिन्टल सुनको तस्करी हुन नसक्ने बताएका छन् ।
‘नेपाललाई सुन तस्करीको हबका रुपमा विकास गरिएको छ । किलो पनि होइन, क्लिन्टलमै सुन ल्याउन थालिएको छ । भन्सारबाटै बाहिरिएको सुन तस्करीमा मुखिया, बैदारलाई आरोपित गर्ने, माथिल्लो तह चोखै रहने स्थिति छ । तल्लो तहबाट मात्र यस्तो काम हुन सक्दैन, माथिको संरक्षणबिना काम हुँदै हुँदैन । यो पहिलोपटक पनि होइन । यो सन्जोग मात्र पनि होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कँडेलले भने । सुन तस्करीमा राजनीतिक नेता वा व्यापारिक घराना जोसुकैको संलग्नता भए पनि इमानदारीपूर्वक अनुसन्धान गर्नु आवश्यक रहेको उनले औंल्याए ।
जारी कांग्रेस केन्द्रीय समिति बैठकमा नेतृत्व तहलाई सचेत गराउने काम भएको पनि कँडेलले बताए । उनले भने, ‘एक वर्षसम्म बैठक हुन नसकेपछि पार्टीमा समस्या आएको हो । पार्टीको विधान र क्यालेन्डर अनुसार काम नभएको र सहमतिमा अगाडि नबढेपछि शेरबहादुरजीदेखि गगनजीसम्मको आलोचना हुनु स्वाभाविक हो । कार्यशैलीमा अलिकति मिलेन भनेर सचेत गराएको हो । त्यसलाई विरोधको रुपमा मात्र लिनु भएन । दुवै पक्षको कमीकमजारी छ । साथीहरुले सच्चिने दबाब दिएका हुन् ।’
महामन्त्री गगन थापाले चाहेर मात्र संसदीय दलको नेता परिवर्तन नहुने पनि कँडेलले औंल्याए । उनले थपे, ‘संसदीय दलको नेता परिवर्तन गगनजीले मात्र चाहेर हुँदैन । पार्टी नेतृत्व महाधिवेशनबाट चुनिएको हो, पहिले पहिलेजस्तो टीका लगाएर चुनिएको होइन ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot