Logo

घोराहीका मेयर चौधरीको आक्रोश : ठेक्कापट्टा संघ र प्रदेशले लगाउने, गाली चाहिँ हामीले खाने ?



काठमाडौं, ५ साउन । घोराही उपमहानगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका महासचिव नरुलाल चौधरीले जनतामा उत्साह थपिने गरी बजेट नपाएको गुनासो गरेका छन् ।
‘मेरो पहिलो कार्यकालमा कानुन निर्माण, भौतिक पूर्वाधारको विकास र सामाजिक सुधारका कामले जनतामा आशा जगाएको थियो । तर दोस्रो कार्यकालमा केही शिथिलता आएको छ । सोचेजस्तो काम हुन सकेको छैन । जनतामा उत्साह थपिने गरी बजेट पुगेको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’ का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
मेयर चौधरीले आफूले यो वा त्यो पार्टी भनेर पक्षपात नगरेको पनि दाबी गरे । उनले भने, ‘पार्टीको टिकट लिएर जितेको भए पनि हामीले साझा जनप्रतिनिधिका रुपमा काम गर्ने हो । कहीं पनि पक्षघात गर्ने ठाउँ छैन । आफ्नो स्वार्थ पूरा नहुँदा कतिपयका व्यक्तिगत गुनासो हुन सक्छन् । तर स्थानीय तहमा सबै सत्तापक्ष हो, प्रतिपक्ष भन्ने नै छैन ।’
घोराही उपमहानगरपालिकाले ४२, ४३ वटा कृत्रिम जलाशय निर्माण गर्दा पर्यटन, रोजगारी र व्यापार बढेको पनि बताए । उनले भने, ‘घोराही सुख्खा क्षेत्र हो । यहाँको विकासलाई अघि बढाउन ४२, ४३ वटा कृत्रिम जलाशय निर्माण भएका छन् । यसबाट सिँचाइ सहज भएको छ भने माछा पाल्ने, बोटिंग गर्ने काम भएका छन् । होटल खुलेका छन् । पसल खुलेका छन् । व्यापार बढेको छ ।’ तर जनचेतनाको अभावमा त्यही जलाशयमा पौडी खेल्दा कतिपयले जीवन गुमाएको दुःखद घटना पनि भएको उनले बताए ।
साथै उनले नागरिकलाई निःशुल्क आाधारभूत स्वास्थ्य प्राप्त गर्न पहुँच पुर् याएको, फोहोर व्यवस्थापन गरेको, बालमैत्री नगरका रुपमा विकास गरेको, छाडा बस्तुभाउ नियन्त्रण गरी गौशाला सञ्चालन गरेको आदि कामको फेहरिस्त पनि दिए ।
स्थानीय सरकारलाई अझ बलियो र सशक्त बनाउनुपर्नेमा उसका अधिकारमा अंकुश लगाउन नहुने पनि मेयर चौधरीले औंल्याए । उनले भने, ‘सरकार स्थानीय सरकारका काम सहज बनाउने काममा लागेको छैन । यहाँ त ठेक्कापट्टा संघ र प्रदेश सरकारले लगाउने अनि गालीगलौज चाहिँ हामीले खानुपर्ने दुःखद स्थिति छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot