Logo

हिजोका तुलनामा आजका पाठक उत्तर आधुनिक छन् : डा. पोखरेल



साहित्य–वार्ता

डा. अपर्णा पोखरेल
माता/पिताः शारदा/प्रा.डा. माधवप्रसाद पोखरेल
जन्मस्थानः धरान, विजयपुर
अध्ययनः पीएचडी
प्रथम प्रकाशित रचनाः मेरो पहिलो कृति ‘नेपाली वर्णविन्यासमा पदयोग र पदवियोगको समस्या’ (२०६५, कमलमणि दीक्षित) हो ।

प्रकाशित कृति :
१. नेपाली वर्णविन्यासमा पदयोग र पदवियोगको समस्या (२०६५)
२. नेपाली वर्ण व्याकरण (२०७९)

प्रकाशित लेख रचना :

१. नेपाल, चीन र भारतलाई जोड्ने सत्यमोहन जोशीको ऐतिहासिक अनुसन्धानः ‘कर्णाली लोकसंस्कृति’ खण्ड–१
२. ‘अग्नि’ महाकाव्यको क्रान्तिकारिता
३. पुस्तक समीक्षाः ‘जस्केलोबाट चियाउने सूर्य’ कथासङ्ग्रह
४. ‘करिया’ ले किन मदन पुरस्कार पाएन होला ?
५. सुनकेशरा मैयाँ कुन राज्यकी राजकुमारी थिइन् होला त ?
६. ‘महारानी’ लाई मदन पुरस्कार ?
७. नारीवाद,
८. भामह र दण्डीको तुलनात्मक काल निर्णय,
९. आसामको सम्झना,
१०. सिद्धान्तवादी सान्दाजु, माधव पोखरेल विशेषांकका बारेमा, आदि ।
प्रकाशनोन्मुख कृति तथा लेखरचनाः
१. सन्तनिकेतन निवासी सन्त जनकलाल शर्मा,
२. ‘दङ्गी उर्वशी’ महाकाव्यमा मिथक,
३. ‘रणहार’ उपन्यासको विश्लेषण,
४. हाम्रो ‘गुरु परम्परा’,
५. बाग्मती,
६. म र मेरी मम्मी,
७. सन्तपरम्पराका वंशज जनकलाल शर्मा, आदि ।

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?

विद्यार्थी जीवनमा नेपाली विषयको पाठ निबन्ध र कथा पढेका वेलामा निबन्ध र कथा लेख्ने गर्थेँ । सप्तकोशी नदीमा बाढी आएर नदी छरपष्ट भएका वेलामा नदीले गरेको विनाश एकातिर थियो भने, अर्कातिर सधैँ आफ्ना आँखामा पर्ने बाग्मती नदीचाहिँ बग्न नै बिर्सिएझैँ गरेको देखेर एउटा काव्यात्मक ‘बाग्मती’ शीर्षकको निबन्ध मैले लेखेको पहिलो रचना हो ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?

हाम्रा पितालाई हामी ‘सान्दाजु’ भन्छौँ । उहाँका पहिलेका विभिन्न शीर्षकका हास्यव्यंग्य निबन्ध राम्रा लाग्थे । भैरव अर्याल, हृदयचन्द्रसिंह प्रधानका निबन्ध, गुरुप्रसाद मैनालीका कथा, लैनसिंह वाङ्देलको ‘माइतघर’ उपन्यासले मेरा मनमा एउटा गहिरो छाप छोडेको छ ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
म छिटो/छिटो लेख्न सक्तिनँ । केही गरी छिटै रचना गरेँ भने पनि त्यसलाई नमाझी प्रकाशन गर्न मन लाग्दैन । अचेल मेरो लेखन धेरैजसो समालोचनामा केन्द्रित छ । समालोचनामा पनि मैले बढ्ता ध्यान महाकाव्य र उपन्यासमा दिएकी छु । महाकाव्य र उपन्यास पढ्नै बेर लाग्छ । त्यसमाथि पनि समालोचना लेख्न एकपल्टमात्र पढेर हुँदैन, अनेकपल्ट पढ्नुपर्छ । पढेका कृतिमा पनि चिनो लगाएर, कागतमा टिपेर, कम्प्युटरमा सारेर, अनेकपल्ट तलमाथि पारेर तुलना गरेर निर्णय गर्नुपर्ने हुनाले मेरो लेखन र प्रकाशन अलिक ढिलो छ ।अहिले म ‘दङ्गी उर्वशी’ महाकाव्यको समालोचना गर्दैछु । घरव्यवहारले अलि÷अलि अल्मल्याइ पनि हाल्छ, त्यसैले लेख प्रकाशन हुन बाँकी छ ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

आफ्नो लेख त सन्तुष्ट नभई पूरै हुँदैन, अरूका लेखमा असन्तुष्ट हुने मेरो अधिकार के होला र ? त्यसैले म सन्तुष्ट नै छु ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

विचार गर्दैछु । विचारहरूका तँछाडमछाडले केले बाजी मार्ने हो । समालोचनाले नै उछिन्छ कि ?

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

साहित्य र स्रष्टा भनेका राष्ट्रको अमूल्य सम्पत्ति हुन् । यदि कुनै साहित्य मूल्यवान् हुन्छ भने त्यसले देश, काल र परिस्थिति सबै सीमा नाघ्छ । यदि कुनै कृति वा साहित्यकार प्रख्यात हुन्छ भने उसले आफ्नो राष्ट्रको गौरव बढाउँछ । त्यसैले साहित्यकारहरूको संरक्षण राष्ट्रले गर्नुपर्छ । त्यतिमात्र होइन– जननी र जन्मभूमि दुवै हाम्रा आमा हुन् । आमाको रक्षा र सम्मान गर्नु भनेको सम्पूर्ण स्रष्टाको उत्तरदायित्व हो । प्रथमतः राष्ट्रप्रति स्रष्टा नै जिम्मेवार हुनुपर्छ । अचेल हाम्रो देशमा साहित्यिक सिर्जना, समालोचना, स्रष्टा र भाषाप्रति सरकार गम्भीर हुने कुरामा आश गर्न सकिँदैन ।

तपाईंको साहित्यिक आदर्श के हो ?

जुनसुकै लेखकले प्रथमतः आफैँप्रति इमानदार हुनुपर्छ, आफ्नै जातीयताप्रति, आफ्नो भाषाप्रति, अभिव्यक्तिप्रति, आफ्नै लोकपरम्पराप्रति, आफ्नै राष्ट्रप्रति अनि समग्र मानवीय धर्मप्रति पूर्ण निष्ठा राख्तै आफ्नो लेखकीय धर्म जोगाउँदै अघि बढ्नु मेरो आदर्श हो कि !

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ? तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

पहिलो कुरा त लेखकलाई आफ्नो कलमकै भरमा मात्र बाँच्न गाह्रो छ तर पनि लेखकहरूले आफ्नो लेखकीय दायित्वचाहिँ पूरा गरेका छन् । म आफ्नो कृतिप्रति सन्तुष्ट छु ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

हिजो पनि युगसुहाउँदो थियो र आज पनि छ । हिजो राम्रा कृति, लेख तथा रचना लेखिन्थे भने आज अझ बढी राम्रा अध्ययन अनुसन्धान गरेर लेखिन्छन् । नेपालबाहिर रहेका नेपालीले आफू र आफूले जस्तैले भोगेका कथाव्यथा अनि नेपाली माटोकै रचना हुने गरेकाले लेखरचना उत्कृष्ट हुँदै गएका छन् । हिजोका तुलनामा आजका पाठक उत्तर आधुनिक छन् । त्यसैले लेखन पनि उत्तर आधुनिक छ । हिजो हिजोलाई नै सुहाउँदा थिए, आज आजलाई नै सुहाउँदा छन् । सबै रचना त हिजो पनि उत्कृष्टमात्र थिएनन्– आज पनि त्यस्तै हो । आज प्रकाशनमा बाढी आएको छ, त्यसैले सिर्जना र लेखनमा परिवार नियोजन कम छ ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

मेरा विचारमा पाठकलाई आफ्नै कथाजस्तो लाग्ने यथार्थ किसिमका र मनोरञ्जन दिने खालमा साहित्य लेखिनुपर्छ । पाठकको मन रोएको अवस्था छ भने पनि त्यो पाठकलाई भित्रबाट काउकुती लगाएर हसाउने, लेखककै भावमा पाठक भिज्न सकून् । लेखकको विचारसँगसँगै पाठक बग्न सकून् । बालबालिकाका लागि होस् वा अन्य पाठकका लागि– साहित्यले कुतूहल जगाउन सक्ने र त्यसरी नै म पनि केही गर्न सक्छु भन्ने भाव पाठकका मनमा उठ्ने र पाठकलाई प्रेरणा दिन सक्ने साहित्य लेखिनुपर्छ ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?

लेखनप्रति समसामयिक विषयवस्तु, समाजमा ओरिपरि घटेका घटना र देखे÷भोगेका कुराले प्रेरणा दिन्छ ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

यही समयमा लेख्छु भन्नेचाहिँ छैन तर खाना पकाउँदै गरेका वेलामा दिमागमा विचार फु¥यो भने पकाउनै छाडेर त्यस विचारलाई कापी र कलम लिएर टिप्न थाल्छु । पकाउँदै गयो सम्झँदै गयो, विचार फुर्दै जान्छ । टिप्तै गयो । ती बुँदालाई साँधेर चटपटे रचना तयार हुन्छ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?

लेख्नकै लागि चाहिँ एकान्त जरुरी छ, सोच्तै, लेख्तै, शब्दहरू छान्दै, तिनलाई सजाउनका लागि एकान्त नभई हुँदैन । कुनै समस्या नभए त लेखकै बनिँदैन होला, त्यसैले नेपालको सरकारी र सामाजिक भाँडभैलो नै जबसम्म रहन्छ– तबसम्म लेखकलाई उपयुक्त वातावरणको केही पनि खाँचो हुँदैन । जनताका आकांक्षा धुलोपिट्ठो भएको वर्तमान भाँडभैलो नै सक्कली लेखकलाई उपयुक्त वातावरण हे भन्ने मलाई लाग्छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

जुन विषयले मलाई बढ्ता उकुसमुकुस र छट्पटी दिन्छ– त्यसैले मलाई मेरा लेखनको विषयवस्तु रोज्न कुत्कुत्याउँछ । मलाई मात्र नभई पाठकलाई पनि झस्काउन र ऊर्जा भर्न सकोस् भन्ने त्यस्ता किसिमका विषयवस्तु छान्छु, अनि विभिन्न साहित्यकारले लेखेका रचना पढेर त्यस साहित्यले पारेको प्रभावका आधारमा प्रायः म विषयवस्तु छान्ने गर्छु ।

सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ?

आफ्नो अस्मिता, आफ्नै समाज, आफ्नै परिवेश, आफ्नो राष्ट्र र आफूले बाँचेको धर्तीसँग पूर्ण निष्ठा राख्तै पाठकको मन, विचार र समाज परिवर्तन गराउन सक्ने सोच स्रष्टाका गुण हुन् ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?

आख्यान, निबन्ध र कविताका पाठक बढी होलान् जस्तो लाग्छ ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?

लेखकले छिमेकमा ओरिपरि देखेका घटनालाई, महशुस गरेको भावलाई, पाठकलाई घच्घच्याउन रसलाई ध्यान दिएर सिर्जना गर्ने हुनाले लेख तथा रचनामा सजीवता भएको कृति उत्कृष्ट हुन्छ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?

पत्रकारले लेख मागेका बेलामा, आफ्नै ओरिपरि कुनै घटना घटेका बेलामा र रोचक किताब पढेका बेलामा लेख्नै पर्ने बाध्यता महशुस हुन्छ ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
हामीले हाम्रो जीवन बिर्सनुहुँदैन । संसारका जुन कुनामा पुगे पनि ‘हामी नेपाली हौँ’ भन्ने कुरा बिर्सनुहुँदैन । हाम्रो जन्म त्यसै भएको छैन, कुनै कारणले हामी यस पुण्यभूमिमा प्रकृतिका काखमा जन्मिएका छौँ । विदेश र विदेशी भाषा तथा संस्कृतिको मोह त्यागेर आफ्नो जीवन, आफ्नो बाल्यकाल, जन्मस्थान, माटो र आफ्नो देशलाई सम्झिएर हामीले सिर्जना गर्नुपर्छ ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?

आत्मविश्वासको कमीले होला । राजनीतिक दलको पछाडि लागेर केही स्वार्थसिद्ध गर्न सकिन्छ कि भनेर हुन सक्छ । आफ्नै कलममा विश्वास र निष्ठा नभएका लेखक आफ्नो कालजयी कलमलाई बर्खे च्याउ भन्दा पनि मौसमै अनुसार छेपाराले रङ फेर्ने दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ।



प्रतिक्रिया दिनुहोस्