काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई निश्चित् व्यक्तिहरुले कमजोर बनाएको आरोप लगाएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको नाम नलिईकन उनीहरुविरुद्ध बस्नेतले आक्रोश पोखेका हुन् ।
उनले भने–‘केही साथीहरु, विधिबाट पार्टी चल्नुपर्छ पनि भन्ने, अनि विधान र विधि एकातिर लगेर आफ्नो व्यक्तिगत महत्वकांक्षा सडकमा लगेर छ्यालब्याल बनाउने, यसले जतिसुकै बुँदा यहाँ उल्लेख गरेपनि त्यसरी हिँडेर यो पार्टी बलियो हुन्छ ? त्यसकारणले अहिले यो जुन लाईभ गर्ने जुन थालनी भयो, म धन्यवाद भन्न चाहन्छु ।’ उनले बैठका क–कसले के के बोल्ने हो भन्ने कुरा बाहिर थाहा हुनुपर्नेमा जोड दिए ।
उनले भने,‘यहाँ त भिड गरेर, अल्पमतले बहुमतले सधैंभरि शासन गर्ने कुरा हुन थाल्यो । के लोकतन्त्रमा यो यही हो त ? प्रजातन्त्रमा हामीले पढेका विधि र विधानहरु यही हुन त ? अनि जसलाई जे मन लाग्यो, त्यही गर्यो ? कांग्रेस कमजोर बनाउने काम निश्चित् व्यक्तिहरुबाट भैरहेको छ ।बाहिर भए नभएका हल्लाखल्लाहरु गरेर, कांग्रेस फुट्छ अनि कांग्रेस यसो हुन्छ भनेर भैरहेको छ ।’ उनले महामन्त्री थापालाई लक्षित गरेर विधि मिचेर हिँड्न खोजेको आरोप लगाए । उनले सबैभन्दा बढि गुटको राजनीति गरेर फाइदा लिनेहरुले नै अहिले कसैले नपत्याएपछि गुटको अन्त्य भनेर हिँडिरहेको पनि आरोप लगाए ।
https://www.facebook.com/nepalicongresshq/videos/803645621481148