Logo

सेयर, सवारी साधन र घर जग्गाप्रति लचिलो मौद्रिक नीति



काठमाडौं, साउन ८ । सेयर बजार, सवारी साधन र घरजग्गालगायतका कारोबारमा लचिलो हुँदै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका निम्ति मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सार्वजनिक गरेको हो ।

मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको राष्ट्र बैंकको दाबी छ ।

त्यस्तै, वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहेको छ । उक्त मौद्रिक नीतिमा ५० लाख रुपियाँसम्मको सेयर धितो कर्जामा १ सय प्रतिशत जोखिम भार कायम गरिएको छ । यसअघि २५ लाख रुपियाँसम्मको सेयर धितो कर्जामा सय प्रतिशत र त्यसभन्दा माथि १५० प्रतिशत रहेको थियो ।

त्यस्तै, २० लाख रुपियाँसम्मको हायर पर्चेज वा सवारी कर्जामा पनि जोखिमभार १५० प्रतिशतबाट घटाएर १ सय प्रतिशत कायम गर्ने भएको छ । सरकारबाट लाइसेन्स प्राप्त रियल स्टेट कम्पनीबाट आवासीय घर निर्माणमा पनि जोखिमभार १५० प्रतिशतबाट १ सय प्रतिशत कायम गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए।

ऋणको जोखिम भार घटाउन बैंक तथा वित्तीय संस्थाले माग गर्दै आएको थिए । ऋणको जोखिम भार कम बनाउँदा बैंक तथा वित्तीय संस्थाले धेरै ऋण प्रवाह गर्न सक्ने भएकाले मौद्रिक नीतिले कर्जा प्रवाहलाई प्रोत्साहित गरेको बैंकरहरूको भनाइ छ ।

त्यस्तै, मौद्रिक नीतिले नीतिगत दर ७ प्रतिशतबाट घटाएर घटाएर ६ दशमलव ५ प्रतिशत कायम गरेको छ । नीतिगत दर घटेपछि बैंकहरूले राष्ट्र बैंकमार्फत् लिने अल्पकालीन सापटीमा लागत कम हुनेछ । जसले समग्र ब्याजदर घटाउने छ । हालको बैंकदर ७ दशमलव ५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५ दशमलव ५ प्रतिशतबाट ४ दशमलव ५ प्रतिशत कायम गरिएको छ ।

राष्ट्र बैंकले विस्तृत मुद्राप्रदाय १२ दशमलव ५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११ दशमलव ५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह ४८ खर्ब ७९ अर्ब रुपियाँ कर्जा प्रवाह भएको थियो । यस आर्थिक वर्षमा ४९ खर्ब रुपियाँसम्म कर्जा प्रवाह हुन सक्ने बैंकरहरू बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot