Logo

मौद्रिक नीतिबारे पूर्वगभर्नरको टिप्पणीः ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न मुस्किल



काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले हिजो आएको मौद्रिक नीतिबाट ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न मुस्किल हुने औंल्याएका छन् ।
‘मौद्रिक नीति वित्तीय स्थायित्व र अर्थतन्त्र चलायमान हुने हिसाबले आएको छ । तर यसबाट ६ प्रतिशत आर्थिक वृद्धि गर्ने गाह्रो गाह्रै होला । किनभने मौद्रिक नीति कसिलो आयो । ब्याजदर घटेको छैन, पुनर्कर्जामा कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकको ध्यान देशको ढिकुटी नसिद्धियोस्, भोलि अप्ठ्यारो नहोस् भन्ने नै हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
डा. नेपालले मौद्रिक नीति उद्योगी व्यवसायीले सोचेजस्तो नआएको टिप्पणी गरे । उनले भने, ‘केन्द्रीय बैंकको दृष्टिकोण नै ढिकुटी कसरी सुरक्षित राख्ने भन्ने हुन्छ । तर उद्योग व्यवसायीले ब्याजदरलाई मात्र हेरे । छिटै नाफा कमाउन सस्तो ब्याजमा ऋण पाएनन् । अलिकति बढी ब्याजमा लिएर राम्रो ठाउँमा लगानी गरे भइहाल्यो नि ।’
रेमिट्यान्स, विदेशी सञ्चिती, बैंकमा पैसा हुँदा अर्थतन्त्रमा सहजता रहेकाले खुुकुलो मौद्रिक नीति लिएको भए पनि हुने अवस्था रहेको डा. नेपालले बताए । उनले भने, ‘गत वर्ष विदेशी मुद्रा सञ्चितीमा चाप परेर आत्थु आत्थु पारेको थियो । त्यसैले पोहोर सालकै नीतिगत निरन्तरता दिइएको छ । हिजो श्रीलंका, पाकिस्तानले डलरका लागि आईएमएफ र वल्र्ड बैंकबाट ऋण लिनुपरेको हामीलाई थाहै छ । अर्थतन्त्रलाई राम्रो गर्ने बजेटबाट हो । मौद्रिक नीतिले भएको पैसा व्यवस्थापन गर्ने न हो ।’
ब्याजदर बिस्तारै घट्ने उनको आकलन छ । डा. नेपालले भने, ‘अहिले कर्जा विस्तारलाई अत्यधिक हुन नदिने भन्या छ । कोभिडका बेला ३२ प्रतिशत थियो । अहिले ११.५ गर्ने भनेको छ । बैंक, वित्तीय संस्थामा पैसा छ, त्यो लगानी गर्नैपर्छ । त्यो बजारमा आउँछ । मौद्रिक नीतिले बजारलाई स्वतन्त्र छाडिदिएको छ । ब्याजदर आफै बिस्तारै घट्दै जान्छ ।’



प्रतिक्रिया दिनुहोस्