काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टीका नेता चन्देश्वर पासवानले सबै सरोकारवाला निकायमा कमिकमजोरीहरुको चाङ भएको उल्लेख गर्दै पाएको उपलब्धिको रक्षा गर्दै र कमजोरी सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
दलित सरोकार – सबैको अधिकार मूल नारासहित दलित सरोकार मञ्च, सप्तरीको आयोजनमा जनकपुरमा आयोजित “मधेश प्रदेशको योजना, नीति, बजेटमा दलित” विषयक छलफल कार्यक्रमको पहिलो सेशनको अध्यक्षता समेत गरेका पासवानले यस्तो बताएका हुन् ।
पासवानले सबै सरोकारबाला निकायमा कमिकमजोरीको चाङैचाङ भएको उल्लेख गरे । उनले संघ, प्रदेश र स्थानीय सरकार दलितमैत्री बजेट नदिने अवस्थामा पर्याप्त नभएपनि प्राप्त बजेटको फितलो कार्यान्वयन पक्षलाई सबल र जिम्मेवार बनाउन सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिए ।
सो क्रममा उनले दलित सरोकार मञ्च र कार्यकारी निर्देशक भोला पासवानलाई आफूलाई सेसनको अध्यक्षता गर्न दिएकोमा आभार व्यक्त गर्नुको साथै उक्त सेशनमा सहभागी मधेश प्रदेश नीति आयोग उपाध्यक्ष नाथुराम चौधरी, दलित अध्येता तथा विश्लेषकहरु हिरा विश्वकर्मा (जुम), चन्देश्वर सदा, रघुनाथ लामिछाने, भोला पासवानलगायत राजनीतिक दलका दलित भातृ संगठनका प्रमुख तथा दलित अधिकारकर्मी र कार्यपालिका सदस्यहरुप्रति पनि आभार व्यक्त गरेका थिए ।