Logo

‘आफ्नै टिमबाट निर्वाचित महामन्त्रीमाथि आक्रमण भइरहँदा शेखर कोइराला किन निरपेक्ष भएर बस्नुभयो ?’



काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई निलम्बन नगर्दा पार्टीलाई दीर्घकालीन प्रभाव पार्ने बताएका छन् ।
‘जारी केन्द्रीय समिति बैठकमा भुटानी शरणार्थी प्रकरणलाई बहुमत र अल्पमतको हिसाबले हेरियो । पार्टीका नेताहरु यसले पार्टीलाई कति दीर्घकालीन प्रभाव पार्न सक्छ भनेर गम्भीर भएको देखिएन । निलम्बन भनेको कारबाही होइन, निर्दोष देखिए स्वतः फिर्ता भइहाल्छ । कुनै नेता फौजदारी अभियोग लागेर पक्राउ परेको र जेल गएको अवस्थामा पनि पार्टी, संस्था र नैतिकतालाई पर राखेर हेर्नु कमजोरी हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता शिवाकोटीले केन्द्रीय समिति बैठकमा गगन थापा समूह कमजोर हुनु स्वाभाविक भएको पनि औंल्याए । उनले थपे, ‘हो, भुटानी शरणार्थी प्रकरणमा पार्टीको साझा धारणा बन्न सकेन । थुप्रै केन्द्रीय सदस्यले व्यक्तिको नाम नलिईकन बचाउ गर्नुभयो । हामी निकै थोरै देखियौँ । हामी निर्वाचित भएका मानिस नै थोरै छौं । त्यस्तो अवस्थामा एक्लो वृहस्पति झूटो बनाउने कोसिस हुन्छ । कहिलेकाहीँ एक्लै चल्नुपर्ने पनि हुन्छ । फरक मत राख्नुपर्ने हुन्छ ।’
आम जनताले कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्नुपर्छ भन्ने लागे पनि पार्टी केन्द्रीय समितिका सदस्यहरुलाई नलागेको हुन सक्ने उनले बताए । उनले भने, ‘आम नागरिकको चाहना यही हो । पूर्वप्रधानमन्त्रीहरुको क्लबबाट जनता रत्तिभर खुसी छैनन् । हामी कमिलाबाट सिकिरहेका छौं । जनतालाई सही लागेको कुरामा प्रयास गरिरहन्छौं । पार्टी सभापति स्वयं यसमा लडेर आउनुभएको होइन र ? सभापतिले हाँसेर पचाइरहनुभएको छ । तर उहाँको वरिपरि बस्नेहरुले धुपधुँवार गरिरहनुभएको छ ।’ कांग्रेसको नेतृत्वमा सरकार बन्ने बेलासम्म दलको नेता परिवर्तन हुने सम्भावना रहने पनि शिवाकोटीले बताए ।
भुटानी शरणार्थी प्रकरणमा तपाईंहरुका नेता डा. शेखर कोइराला मौन रहनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा शिवाकोटीले भने, ‘यो तपाईंलाई, आम जनतालाई लागेको कुरा हो । आफ्नै टिमबाट निर्वाचित महामन्त्रीमाथि यत्रो आक्रमण भइरहँदा शेखर डाक्टरसाब किन निरपेक्ष भएर बस्नुभयो ? किन मौन बस्नुभयो भन्ने कुरा उठेका छन् । उहाँले आफ्नो जवाफ आफैँ दिनुहोला ।’



प्रतिक्रिया दिनुहोस्