काठमाडौं, ९ साउन । डडेल्धुराको अजेयमेरु गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका कोषाध्यक्ष उमेशप्रसाद भट्टले जनताको सेवालाई प्रमुख लक्ष्य ठानेका कारण गाउँपालिका उत्कृष्ट घोषित भएको बताएका छन् ।
‘२०२४ सालमा तारानाथ शर्माले घनघस्याको उकालो काट्दा नियात्रा लेखेर यहाँको विकटताको परिचय दिएका थिए । अहिले हामीले त्यसलाई चिरेका छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकनमा देशभरिको उत्कृष्ट पालिका घोषणा भएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’ का लागि पत्रकार ऋषि धमलासँग भट्टले भने । उनी नेकपा (माओवादी केन्द्र) बाट अजेयमेरु गाउँपालिकाको अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका हुन् ।
गाउँपालिकाले नागरिकलाई सुशासनको प्रत्याभूति गरेको दाबी पनि भट्टको छ । उनले भने, ‘हाम्रा बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एउटा पनि भ्रष्टाचारको उजुरी परेको छैन । राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी परेको छैन । आलोचना, विरोध, तालाबन्दी, आन्दोलन, ध्यानाकर्षण, ज्ञापनपत्र आएनन् । त्यस्तो समाचार मिडियामा पनि लेखिएको छैन । अनि कसरी सुशासन भएन भन्ने ?’
पालिका अध्यक्ष भट्टले गाउँपालिकामा कृषिलाई उच्च प्राथमिकता दिइएको बताए । उनले भने, ‘हामी दूधमा आत्मनिर्भर छौं । तरकारी, मासु निर्यात हुन थालेको छ । बँदेल प्रतिरोधी घेराबारा भएका छन् । साना सिँचाइ चलेका छन् । तरकारी, मसाला र माहुरीको पकेट एरिया तोकिएका छन् । बजारको सुनिश्चितता छ । कृषि एम्बुलेन्सको व्यवस्था गरेका छौं ।’
भट्टले जनतालाई बाह्रै महिना चल्ने सडक, कक्षा १२ सम्म पूर्ण निशुल्क शिक्षा, विद्युत्, पुल, खानेपानीका सुविधा दिएको पनि बताए । उनले थपे, ‘४५ मिनेटको दूरी स्वास्थ्य संस्था छन् । ल्याब, भिडियो एक्सरे, ईसीजीको सुविधा छन् । बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको छ । ज्येष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण गरिएको छ । नो होम डेलिभरीको नारा अघि सारेका छौं । हरेक बच्चा स्वास्थ्य संस्थामै जन्मन्छन् । बाल तथा मातृ मृत्युदर छैन । ६ वटा टोललाई पूर्ण सरसफाइ र पूर्णपोषण कार्यक्रम घोषणा गरेका छौं ।’ यसपटकको संघीय बजेटमा उग्रतारा मेघौली सडक कालोपत्रे गर्ने बजेट विनियोजन भएको पनि उनले बताए ।