Logo

१२ करोडका मालिक विश्वकै धनी ‘भिखारी’ घोषित



काठमाडौं,९ साउन । सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी माग्ने’ बने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

तर भारतको मुम्बईस्थित सडकमा मागेर गुजारा चलाउने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित विश्वकै सबैभन्दा धनी माग्ने घोषित गरिएको छ ।

मुम्बईको सडकमा मागेर गुजारा चलाउँदै विश्वकै सबैभन्दा धनी माग्ने बन्ने युवक हुन् भरत जैन । उनले सडकमा मागेरै मात्रै पनि दिनको २ हजार देखि २५ सय भारु जम्मा गर्ने गर्छन् । जैनले मुम्बईको छत्रपाटी शिवजी महाराज टर्मिनल रेलवे स्टेसन, आजाद मैदानजस्ता मानिसको आवतजावत बढी हुने स्थानमा निकै वर्षदेखि माग्दै आएका छन् ।

अहिले उनै जैनले राम्रै पैसा जम्मा गरिसकेका छन् । उनको कूल सम्पत्ति ७।५ करोड भारु अर्थात १२ करोड नेपाली रुपैयाँ रहेको छ । उनीसँग मुम्बईमा लगभग दुई करोडको दुई बेडरुम भएको फ्ल्याट छ । यसका साथै उनीसँग थानेमा दुई वटा पसल पनि छ । त्यसको भाडा प्रति महिना ३० हजार भारु आउँछ ।

उनको मासिक आम्दानी ९६ हजार रुपैयाँ अनुमान गरिएको छ जुन जागिरेहरूले कमाउनेभन्दा निकै धेरै हो ।

इकोनोमिक टाइम्सका अनुसार भरत जैनले पढेका छैनन् । आफ्नो गर्जो उनले मागेरै टार्ने निधो गरे । उनका सन्तानले भने उनको पदचाप पछ्याएनन् ।

-एजेन्सीको सहयोगबाट



प्रतिक्रिया दिनुहोस्