काठमाडौं, ९ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूहरु भ्रष्टाचारविरोधी अभियानमा सशक्त भएर लागेको भन्दै कसैको विरोधले आफूहरुको अभियान नरोकिने स्पष्ट पारेका छन् । गृहजिल्ला गोरखा पुगेका गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरोधी अभियानलाई रोक्ने प्रयास पनि आफूहरुले असफल पार्ने दाबी गरे । उनले आफूहरुले भ्रष्टाचारको सवालमा व्यक्ति र पार्टीको मुख नहेरेको पनि जिकिर गरे ।
सत्ता गठबन्धनकै सांसदले आफ्नो राजीनामा मागेको विषयलाई पनि आफूले अस्वभाविक नमानेको स्पष्ट पारे । उनले भने,‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी र बेथितिविरोधी अभियान चलाइराख्या छौं । अनि त्यसकारणले गर्दाखेरि एउटा वा अर्को रुपले कहीँ, कसैले त्यसप्रकारले सोच्छ भने । सायद आरोप त कसैलाई लगाउन सकिन्न । तथ्य, प्रमाण अनि अनुसन्धानको प्रक्रिया अगाडि नबढाईकन नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्रीले कसैलाई आरोप लगाउन मिल्दैन् । र, विभिन्न प्रवृत्तिहरु त जोडिएका होलान नि । त्यसकारणले गर्दा भ्रष्टाचारविरोधी अभियान सुरु सुरु अगाडि बढ्छ नठान्नु । किनकी भ्रष्टाचारीहरु छन् र त्यसकारण भ्रष्टाचारविरोधी अभियान बढाउने हो । भ्रष्टाचारीहरुको नेक्सस पनि ठुलै छ । विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयत्न हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौं ।’
एक पत्रकारले भ्रष्टाचारविरोधी अभियान असफल पार्न गठबन्धनभित्रै बाट पनि प्रयास भएको छ त ? भन्ने प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने–‘हुनसक्छ । मतलव के हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको हाम्रो गठबन्धन के शुद्धैशुद्ध छ ? भन्न त सकिन्न नि ? तर मूलभूत रुपमा सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा यो समीकरणको सरकार, हामी भ्रष्टाचारविरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हाँसिल गर्न प्रतिबद्ध छ । मूल फ्रेममा कुनै समस्या छैन् । यदा कदा त विभिन्न ढंगले जोडिएका हुनसक्छ नि ।’
उनले जनताले राजनीतिक अधिकार प्राप्त गरेको भन्दै अब यो उपलब्धिलाई साधन बनाउँदै विकास र समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । उनले आम जनताले अनुभूति गर्न पाउनेगरि समृद्धि हाँसिल गरिने बताए । उनले यसको लागि कुनै न कुनै स्तरमा काम भैरहेको बताए । तर, समृद्धिको स्तरले फड्को मार्न नसकेको उनको गुनासो थियो । उनले आजको मुख्य कार्यभार भनेको सुशासन र समृद्धि नै भएको जिकिर गरे । उनले आफूहरुले सुशासनलाई विकास र समृद्धिको पूवर्वत शर्त बनाएर काम गरेको र सरकार दृढतापूर्वक अघि बढेको दाबी गरे ।
https://www.facebook.com/ShresthaNarayanKaji/videos/6325134910927778