Logo

अस्पतालका क्यान्टिन अनुगमनः सरसफाइमा ध्यान दिन निर्देशन



भरतपुर, ९ साउन।  चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ ।

भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालका अनुसार वडाध्यक्ष, महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी, नगर प्रहरी, पत्रकारसहितको टोलीले अस्पतालका क्यान्टिन एवं अस्पताल वरपर रहेका होटलको टोलीले सोमबार अनुगमन गरेको हो । चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन, भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालका क्यान्टिनको अनुगमन गरिएको खनालले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख थानेश्वर सापकोटाले भरतपुर महानगरपालिकाले १३ होटल तथा किराना पसलमा अनुगमन गरेको बताए । उनले प्रारम्भिक चरणमा जरिवाना तिराएर सचेत गराइएको उल्लेख गर्दै पुनः सोही अवस्था दोहोरिए बन्द गर्ने चेतावनी दिए।

अनुगमन गरेकामध्ये अधिकांशमा म्याद सकिएका सामान र होटलहरुले सरसफाइमा ध्यान नदिएको भेटिएको भरतपुर महानगर पालिका उपभोक्ता हित संरक्षण समितिका अनुगमन टोलीका संयोजक विष्णुबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार पाँचवटा होटलमा ताला लगाइएको छ । पुरानो मेडिकल कलेजभित्रका दुई, पुरानो मेडिकल अगाडिको सयपत्री खाजा घर, एभरेष्ट मःम ल्यान्ड र नारायणी सामुदायिक अस्पतालको क्यान्टिन बन्द गराइएको उनले बताए । सरसफाइमा ध्यान नदिएको, अस्पताल अगाडि चुरोट, गुट्कालगायतको सामान बेचेको तथा दर्ता नगरेको कारण बन्द गराइएको हो । त्यसैगरी हाकिमचोकमा रहेको आरसी किराना पसलसमेत बन्द गराइएको छ । त्यहाँ म्याद सकिएका खाद्य वस्तु थिए । अखाद्य वस्तुलाई महानगरले जफत गरेर नष्ट गरेको छ ।

भरतपुरका फार्मेसीमा अनुगमन

जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा भरतपुरको चौविसकोठीका १० फार्मेसीमा अनुगमन गरिएको छ । प्रशासनका नासु विश्वास श्रेष्ठको नेतृत्वमा गएका अनुगमन टोलीले फार्मेसी दर्ताको प्रमाणपत्र, औषधि बेच्नेको अनुमतिपत्र, पसलले जारी गर्ने बिल र औषधिको म्याद हेरेको थियो । अधिकांश फार्मेसीले जारी गर्ने बिलमा कैफियत भेटिएको जिल्ला प्रशासन कार्यालयका नासु श्रेष्ठले जानकारी दिए । चौविसकोठीका औषधि पसलहरुले औषधि खरिद गर्नेको नाम नै उल्लेख नगरी बिल जारी गर्ने गरेको पाइएको उनले बताए ।

त्यस्तै, बिल जारी गर्दा औषधिको ब्याच नम्बर र म्याद सकिने अवधि उल्लेख गर्नुपर्नेमा कसैले पनि त्यसको पालना गरेका छैनन् । पसलको दर्ता प्रमाणपत्र नवीकरण नगर्ने रिजन फार्मेसीका सञ्चालकलाई प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए । गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयको नेतृत्वमा सोमबार औषधि पसलको अनुगमन गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot