Logo

समानुपातिक निर्वाचन प्रणालीको विरोधमा शेखर कोइराला



काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको समानुपातिक निर्वाचन प्रणालीबाट कुनै दलले पनि बहुमत ल्याउन नसक्ने बताएका छन् । आज (मंगलबार) ४१औं विपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले बहुमतका लागि सम्भव नै नहुने निर्वाचन प्रणालीको अभ्यास भइरहेको बताएका हुन् ।

अब समानुपातिक समावेशी चरित्रको प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गरेर सबै जात जाती, लिङ्ग, क्षेत्र विशेषलाई राज्यको मूल धारमा ल्याउन आवश्यक रहेको उनले बताए । उक्त इच्छाशक्ति नेपाली कांग्रेसले देखाएर अरु दललाई पनि बुझाउन सक्नुपर्ने उनको भनाई छ ।

‘हामीले निर्वाचन प्रणाली यस्तो बनाएका छौं, कसैको बहुमत आउन सम्भव नै छैन । सम्भव नै नहुने निर्वाचन प्रणाली हामीले बनाएका छौै । केही साथीहरुले के भन्नुहुन्छ भने समावेशी समानुपातिक पद्धति हामीहरुले राखेका छौं, त्यसलाई सिध्याउन भएन । त्यो त अहिलेको संविधानको मुख्य मुद्दा हो । म पनि मान्छु यो कुरा । तर के प्रत्यक्ष निर्वाचनबाट हामीहरुले समानुपातिक समावेशी चरित्रको प्रत्यक्ष निर्वाचन गर्न सक्दैनौं र ? या अन्य कुनै उपायबाट सबै जात जातीलाई समावेश गरेर अगाडि जान सक्दैनौं र ? प्रत्यक्ष निर्वाचन मार्फत नै हामीहरुले समानुपातिक हिसाबले समावेशी गर्न सक्छौं । त्यसमा दुईमत छैन । त्यो इच्छाशक्ति नेपाली कांग्रेसले देखाउन सक्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot