Logo

ओडारमा बस्दै आएका राहुलको उद्धार



म्याग्दी, १० साउन । बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई  आज उद्धार गरिएको छ ।  बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिए ।

“एक वर्षदेखि ओडारमा बस्दै आएका राहुलको अवस्था नारकीय थियो । धेरै पटकको प्रयासपछि आज आश्रममा जान मानेनन्”, उनले भने, “घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा परेका उनलाई पुनस्थापना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।”

शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामिछाने र नगरप्रहरीको टोलीले उद्धार गरेको थियो । छोराहरुको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका राहुलका बारेमा २०७९ साल फागुन ८ गते राससमार्फत समाचार सार्वजनिक भएको थियो ।

“शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरे,” राहुलले भने, “उमेर घर्किएपछि गाउँ फर्कंदासाथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नु परेको हो ।” उनले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेको थियो ।

सो ओडर बेनीबजारदेखि करिब एक किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताए । “मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थालेको डेढ वर्ष जति भयो,” उनले भने, “काम गर्न सक्दिन । मलाई यही ठीक छ भन्दै अन्यत्र जान मानेका थिएनन् ।”

राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा र पानीको बाछिटा सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर रहेको थियो ।  रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot