काठमाडौं, १० साउन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करी हुँदापनि भन्सारका कर्मचारीहरुले थाहा नपाउनु दुःखद् विषय भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने–‘केही दिन पहिला १ सय केजी सुन, काठमाडौैंको सिनामंगलमा फेला पर्यो, भन्सार कर्मचारीले देखेन । प्रहरी कर्मचारीले देखेन । भलै नेपाली जनताको घरमा दशैंमा पाँच केजी पनि चामल हुँदैन । तर, नेपालको भन्सारमा सय केजी सुन आयात तथा निर्यात हुँदो रहेछ । नेपाललाई एउटा तस्करहरुको ट्रान्जिट प्वाईन्ट बनाउने खेलमा लागेजस्तो देखिएको छ । स्वर्गभूमि तस्करको बनाउने खेल भएको देखिन आएको छ ।’
उनले सरकारले बेलैमा ध्यान दिएन भने नेपाललाई तस्करको स्वर्गभूमि बनाउनेतर्फ नेपालीहरुको ध्यान जाने सुनाए । सरकारले सुन तस्करी प्रकरणमा सत्य कुरा के हो भनेर स्पष्ट पारिनुपर्ने माग गरे । यो प्रकरणमा एउटा चालक र भरियालाई पक्राउ गरेर मुख्य नाईकेलाई जोगाउने खेलमा लाग्न नहुने उनको तर्क छ । उनले अहिले पक्राउ परेको सुनको कम्पनी रेडी ट्रेडको नाममा ठूलो परिमाणमा सामान आएको भन्दै त्यसबारेमा पनि मिहिन अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।