चौतारा, १० साउन । वर्षौँंदेखि पुल अभावले आवतजावतमा समस्या भोगिरहेका सिन्धुपाल्चोकको दुर्गम क्षेत्रका बासिन्दाको झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । जिल्लाको दुर्गम गाउँबस्ती जोड्न पछिल्लो समय एक दर्जन झोलुङ्गे पुल निर्माण गरिएको छ ।
इन्द्रावती गाउँपालिका–१ भिरखर्क र चौतारा साँगाचोकगढी नगरपालिका–१ को स्याउले स्थित कातर्चे गाउँ जोड्न झोलुङ्गे पुल निर्माण भएपछि उनीहरूको यात्रा अवधि छोटिएको हो । गाउँपालिकाको आर्थिक सहयोग एवं हेल्भेटास र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको प्राविधिक एवं सामाजिक सहजीकरणमा उक्त पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिए ।
उनका अनुसार ४९ मिटर लामो उक्त पुल रु बत्तीस लाख ४० हजार छ सय ४१ मा निर्माण भएको हो । यसैगरी बाह्रबिसे नगरपालिका–९, राम्चेको चुल्ठी र घुँडे जोड्ने तीन सय ४९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार उक्त झोलुङ्गे पुल निर्माणबाट हिमाली क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । उनले नगरपालिकाका नौवटै वडामा झोलुङ्गे पुल निर्माण गरिने जानकारी दिए ।
त्यस्तै सुनकोशी गाउँपालिका–२, तित्रेबाट काभे्रको भुल्मु गाउँपालिका–२ जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । एक करोड ५० लाखको लागतमा निर्माण भएको उक्त पुल तीन सय १० मिटर लामो रहेको रहेको वडा नं–२का वडाध्यक्ष विष्णु महतले जानकारी दिए ।
उनका अनुसार पुल निर्माणले घण्टौँ लगाएर आउजाउ गर्नुपर्ने यात्रा १० मिनेटमै छोटिएको छ ।
हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावा पाङ्गणमा निर्माण भएको एक सय ७३ मिटर उचाइ र तीन सय ७० मिटर लम्बाइको झोलुङ्गे पुलले पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ । पुल तयार भएसँगै एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिदैँ आएको झण्डै पाँच घण्टाको समय एकै घण्टामा पार गर्न सकिने गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
सडकको विकाससँगै खोला र नदीमा पक्की पुल बन्न थालेपछि जिल्लाका एक दर्जन झोलुङ्गे पुल भने ओझेलमा परेका छन् । पक्की पुल बनेपछि मान्छे झोलुङ्गे पुलमा हिँड्न छाड्ने र त्यसको संरक्षण पनि नगर्ने भएकाले पुलको भग्नावशेष मात्र बाँकी रहेको मेलम्चीका गणेश दुलालले बताए । त्यस्ता पुल कुनै समय मानिसका लागि यातायात र सञ्चार क्षेत्रमा बरदान सावित भएका थिए । अहिले यातायात र सञ्चारको सुविधासँगै झोलुङ्गे पुलको महत्व घटेको उनको भनाइ थियो ।
पहिला जिल्लाको पश्चिमी क्षेत्रका अधिकांश जनता हिँड्डुल गर्ने सिन्धुखोलाको झोलुङ्गे पुलको अहिले भग्नावशेष मात्र बाँकी छ । मेलम्चीमा मोटरबाटो निर्माणका साथै पक्की पुल बनेपछि यसबाट मान्छे हिँँड्न छाडेको र त्यसको संरक्षण पनि नगरिएकाले सो पुल काम नलाग्ने अवस्थामा पुगेको स्थानीयवासी पुरुषोत्तम घोरासैनीले बताए । तालामाराङ, खाल्डेखोला, शिखरपुरको सहरेखोलालगायत यस क्षेत्रका एक दर्जन जति पुल सडकको विस्तारसँगै उपयोगविहीन बनेका छन् । रासस